२६ श्रावण २०७६, आईतवार
  • रिया भण्डारी,

काठमाडौं । वर्षातको मौसममा झाडापखालाले सबैभन्दा धेरै सताउने वा महामारीकै रुप लिने मौसम हो । दुषित खानापान तथा पानीका कारण लाग्ने रोग झाडापखाला बालमृत्युको प्रमुख कारक हो । झाडापखालाजन्य रोगका कारण नेपालमा वर्षमा झण्डै १५ हजार बालबालिकाको ज्यान जाने गरेको तथ्यांक छ ।

विश्वमा हुने कुल बाल मृत्युमध्ये एक चौथाई झाडापखालाकै कारण हुने गरेको बताइन्छ ।
जिवाणु, विषाणु तथा परिजिवीको संक्रमणले गर्दा झाडापखाला लाग्दछ, तर कतिपय अवस्थामा संक्रमण विना पनि झाडापखाला लाग्नसक्छ । औषधि सेवन, खानाबाट हुने एलर्जी, विभिन्न रोग तथा खानेकुराको अपचका कारण पनि झाडापखाला हुनसक्छ ।

खानेकुरामा हुने ल्याक्टोज, चिल्लो तथा कार्बोहाइड्रेटको अपच हुँदा पनि झाडापखला लाग्न सक्छ कतिपय अवस्थामा केवल खानपिनको गडबडीले मात्र नभै तनावका कारण पनि पाचन क्रिया असन्तुलित भएर पखाला लाग्नसक्ने चिकित्सकहरु बताउछन् । २४ घण्टामा ३ पटक वा सो भन्दा बढी पानी जस्तो पालतो दिसा लाग्नु झाडापखालाको लक्षण हो ।

झाडापखाला हुँदा शरिरमा जलवियोजन भए मृगौला फेल हुने तथा शरिरमा इलेक्ट्रोलाइटहरुको असन्तुलन भएर विभिन्न खाले समस्या उत्पन्न हुने जोखिम रहन्छ । झाडापखला सूक्ष्म जीवाणुको कारण हुन्छ । यो रोग कुपोषित, फोहोर खाना पानी र फोहोर वातावरणमा रहने तथा व्यक्तिगत सरसफाइमा ध्यान नदिने मानिसलाई बढी लाग्छ ।

यो रोगको जीवाणु पानी, खाना र हातको माध्यमबाट शरीरमा प्रवेश गर्छ र मानिसलाई झाडापखला हुन्छ । झाडापखालाका कीटाणुहरु गर्मी मौसममा बढी सक्रिय हुने भएकाले यो रोग गर्मी मौसममा बढी लाग्छ ।

खानेकुरा राम्रोसँग पकाएर मात्र खाने, फोहोर, बासी तथा सडेगलेको खानेकुरा नखाने, पानी उमालेर मात्र पिउने, फलफूल, सागपात तथा सलादहरु राम्रोसँग धोएर तथा सफा गरेर मात्र खाने गर्नाले पनि झाडापखालाबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV