२६ श्रावण २०७६, आईतवार

एजेन्सी । प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीमाथि शानदार जित निकालेको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको दोस्रो खेलमा बार्सिलोनाले नापोलीलाई ४–० गोल अन्तरको पराजित गरेकाे हाे ।

बर्सिलोनालाई शानदार जित दिलाउनका लागि लुइस स्वारेजले दुई, एन्टोनी ग्रीजम्यान र उसामान डेम्बेलेले समान एक/एक गोल गरे । यसै सिजनाबाट बार्सिलोनामा अनुबन्धित भएका ग्रीजम्यानले बार्सिलोनाको लागि याे पहिलो गोल गरेकाे हाे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा बार्सिलोनाले नापोलीकाे पाेस्टमा गाेलकाे वर्षा नै गर्याे । दोस्रो हाफकाे १५ मिनेटको बीचमा बार्सिलोनाले ४ गोल हान्यो ।

खेलको ४८औं मिनेटमा स्वारेजले पहिलो गोल गर्दै बार्सिलाेनालाई अग्रता दिलाए । त्यसपछि ५६औं मिनेटमा ग्रीजम्यानले गोल गर्दा बार्सिलोनाले अग्रता देब्बर बनायाे ।

खेलको ५८औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरे । लगत्तै खेलको ६३औं मिनेटमा डेम्बेलेले टोलीका लागि चौथो गोल गरे ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल बार्सिलोनाले जित्यो । तीन दिनअघि भएको खेलमा पनि बार्सिलोनाले नापोलीलाई २–१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV