२५ श्रावण २०७६, शनिबार

मुलुकमा नयाँ राजनीतिक दलहरुको समेत सक्रियता बढ्दो छ । धेरैलाई लाग्छ कि पूराना दल र पूराना नेताको खास काम छैन । उनीहरुमा मुलुक बदल्न सक्ने क्षमता छैन । सायद त्यही भएर होला नयाँ राजनीतिक दलहरु मुलुकभरि नै आफ्नो सक्रियता बढाउँदै छन् ।

नयाँ दलहरुलाई अण्डरस्टिमेट गरेको होइन तर राजनीतिमा संगठन बनाउन र संगठनको सञ्जाल फैलाउन एक दम धेरै समय लाग्छ । सञ्जाल र संगठन फैलिएर मात्र पुग्दैन जनविश्वास पनि आर्जन गर्ने प¥यो ।

त्यसमा पनि समय लाग्छ । देशमा पक्कड भएका राजनीतिक दलको सांगठनिक फैलावट र सदस्य संख्या चानचुने कुरा होइन । अझै पनि कांग्रेस कि कम्युनिष्ट भनेर २ धारलाई हेरिन्छ । चुनावका बेलामा त झन् संगठन बलियो भएकाहरु मैदानमा नै उत्रिन्छन् ।

तुलनात्मक रुपमा नयाँ विचारधारावालाहरु मैदानमा भन्दा सामाजिक सञ्जालमा बढी सक्रिय हुन्छन् । हामी आम सर्वसाधारणलाई चाँही मुलुक सही मार्गमा गइदिए पुग्छ । नयाँ पूराना जो आएपनि खासै मतलब हुँदैन । अझै भन्नु पर्दा पूराना दल सही मार्गमा गए भने जनताले चोक चोकमा बसेर चिन्ता गर्नै पर्दैन ।

नयाँ दलहरुले पनि न्वारनदेखिको बल लगाएर लाग्नै पर्दैन । राजनीतिक परिर्वतनमा नयाँ दलको त भूमिका नै छैन भने पनि हुन्छ । र अब त झन् हुनेवाला पनि छैन । सारा परिर्वतन त आइसक्यो अब के त्याग गर्नु, के भनेर जेल जानु नयाँ दलका नेताहरुले ?

त्यसैले त्याग नगरी जेल नपरी योगदान नै देखिदैन, योगदान नदिएकाले जति जाने पनि जति बुझे पनि राजनीतिमा स्थान पाउने कुरै भएन । नेपाली कांग्रेसलाई कति सजिलो छ । भाषण गर्न बिषयवस्तुको कमी नै छैन ।

हेर्नुहोस्, हाम्रो पार्टी भनेको राणा शासन विरुद्ध, निरकुंशता विरुद्ध लडेर आएको पार्टी हो, हिजो उम्रेको पार्टी होइन । कुरा हो पनि । लडेकै हो, ल्याएकै हो । कम्युनिष्ट पार्टीलाई भाषण गर्ने बिषयवस्तुको झन् के कमी हुन्थ्यो र ! हामीले एकदलीय शासन विरुद्ध, लड्यौ मुलुकमा गणतन्त्र ल्याउन लड्यौ, राजा फाल्न लड्यौ, संघीयता, धर्म निरपेक्षताका लागि लड्यौ ।

कुरा हो पनि ! लडेकै हो, ल्याएकै हो । नयाँ पार्टीहरुले के भन्ने ? नयाँ पार्टीहरुले भन्ने भनेको यी पूराना पार्टीले विकास गरेनन्, भ्रष्टाचारलाई प्रोत्साहन दिए, आफ्नो सुख, सुविधामा केन्द्रीत भए, मुलुक विकासको भिजन भएन । भन्ने यति नै हो । विचरा नयाँ दलहरुलाई के भन्ने । आँफू जन्मदै नजन्मेकै युगमा योगदान कसरी दिनु ?

त्याग नगरी, जेल नपरी राजनीति गरेको काउन्टिङ नै हुँदैन, सबै सकिएपछि अहिले केका लागि जेल जाने । असल राजनीतिज्ञ हुनलाई जेल गएकै सर्टिफिकेट चाहिने हो भने बरु विप्लब कार्यकर्ताहरु त्यो क्याटगोरीमा पर्ने सम्भावना देखिन्छ । आज जस्तै भोलिको पुस्ताले पनि राजनीति गर्ने मान्छेको योग्यता हेर्दा त्याग गरेको र परिर्वतनका लागि जेल नेल खाएको अनिवार्य ग¥यो भने भविष्य त विप्लवको दलको देखिन्छ ।

अन्य नयाँ दलको एजेण्डा भनेको त भ्रष्टाचार, सुशासन, विकास निर्माण मात्रै भयो । प्रोब्लम यति हो भने सोलुसन पनि सजिलो छ । पूराना दलले भ्रष्टाचार बन्द गरे गराए, नयाँ दलको भिजनलाई कपि पेष्ट गरी त्यही अनुसार सच्चिएर, सच्याए भने प्रोब्लम सोल्भ भएन र ?

बर्षौं लगाएर संगठन बनाएर, सदस्य बनाएर, चुनाव लडेर जिते भने नयाँ दलले गर्ने विकास नै हो, शिक्षा स्वास्थ्यमा आम नागरिकको पहुँच नै हो, भ्रष्टहरुलाई जेल कोच्ने हो, कर्मचारी तन्त्रमा व्यापक सुधार हो ।

रोजगारीको सिर्जना हो, अपराध नियन्त्रण हो, बाटा–घाटा, अस्पताल, पुल, सिचाई, जलविद्युत नै हो भने यति काम पूराना दलले गरिदिए नयाँ दलको टाइम वेष्ट नै हुँदैन नि ! यो सकिन्छ तर, यसो गर्न पूराना दलका नेताले होइन कार्यकर्ताले मात्र सक्दछन् ।

कार्यकर्ता मित्रहरुले भक्ति गर्न छोडेर नेताहरुलाई प्रत्येक तीन महिनामा टाउनहलमा बोलाएर हामी संचारकर्मीले जस्तो ¥याख¥याख्ती पारौ त । सम्पत्ती विवरण, माफियासँगको साठगाँठ, प्रगती विवरण भ्रष्टाचारको मुद्धा, ढिलासुस्ती, कालो बजारी, चाकडका आधारमा र भनसुन सोर्स–फोर्सका आधारमा कमिशन घुस खाएर नियुक्ति गरेको थाहा पाउँदा पाउँदै पनि मेरो नेता महान भन्नुहुन्छ भने तपाई र हिजोका राजा भक्तमा केही फरक देखिदैन ।

आजसम्म कुनै कार्यकर्ताले मेरो नेता, गलत बाटोमा हिड्यो, उसका गल्तीहरु यी–यी हुन्, त्यसैले मैले आजबाट उहाँको पछि लाग्न छोडे भनेर भन्ने आँट गरेको छ ? राजाका पालामा राजाको भक्ति गाउनेले जे बोले पनि हो सरकार, भन्थे, जयजय गर्थे ।

मेरो दलले र मेरो नेताले गल्ती नै गरेको छैन, यो देश जनताले नै खत्तम बनाएका हुन् भन्नु प¥यो किन ? होइन भने आफ्नो नेतालाई प्रश्न गर्ने, फोरम बनाउनु जरुरी छ । कार्यकर्ताको त कुरा छोडौ, पत्रकारिता जस्तो पेशापनि राजनीतिक दलको अगाडि झुकेको देख्दा रुन मन लाग्छ ।

कुनै दलले फलानोलाई सिध्याउने भनेपछि हो–हो, सिध्याउने भनेर त्यसको विरुद्ध लेख्न तम्सिहाल्नेहरुका सन्तान पनि त यही माटोमा छन् नि । कसैको लागि आफ्नो कलम बेच्नेहरुले कहिले बुझ्लान कि तिनको आफ्नै कलम गलत प्रयोग भएका कारण आफ्नै सन्तानको भविष्य अन्धाकार हुँदैछ ।

नेताले होइन, अन्धा कार्यकर्ताले यो पापको भारी बोक्नुपर्छ । कसैका लागि प्रयोग हुनु भनेको आफ्ना सन्तानको भविष्य आफ्नै हातले निमोठ्नु बराबर हो । अर्को दलको नेताका बारे धेरै बोल्नुभो केही समय आफ्नै नेताको आलोचना गरौं, तर्क प्रमाणसहित विरोध गरौं ।

LIVE TV