२५ श्रावण २०७६, शनिबार

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पछाडि परेका तथा सिमान्तकृत वर्गको संरक्षणमा प्रदेश सरकार सधैँ लागिपर्ने बताउनुभएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा रहेको निर्माणाधीन एकीकृत बोटे बस्तीको अवलोकन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सीमान्तकृत जातिको संरक्षणमा मनहरी गाउँपालिकाले देखाएको सक्रियताका लागि धन्यवादसमेत दिनुभयो ।

मुख्यमन्त्री पौडेलले सीमान्तकृत जातजातिको संरक्षणमा सबै प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहेको धारणा राख्नुभयो । मनहरी गाउँपालिकाले माछा मारी जीविकोपार्जन गर्दै आएका बोटे समुदायका लागि प्रदेश सरकारको सहयोगमा एकीकृत बस्ती निर्माण गरेर घरवास९होमेस्टे० का रुपमा विकास गर्ने योजनाअनुसार अगाडि बढाइरहेको काम अवस्था अवलोकन गर्न मुख्यमन्त्री पौडेल एकीकृत बस्ती पुग्नुभएको हो ।

यसैबीच मुख्यमन्त्री पौडेलले मनहरीको कृषि क्षेत्रको समेत अवलोकनको क्रममा कृषकले तरकारी खेतीमा गरेको प्रगतिको प्रशंसा गर्दै विषादीरहित उत्पादनमा जोड दिन अनुरोध गर्नुभयो । मुख्यमन्त्री पौडेलसँगै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV