२३ श्रावण २०७६, बिहीबार

आज धेरै गहकिला कुरा गर्ने मु्डमा छैन, त्यसैले हल्का कुरा गरौं । हामी निकै फुर्सदिला छौं । कुनै पनि बेला कही–कतै जानुप¥यो भने हामीलाई समय नै समय हुन्छ । जागिर भएकाहरुलाई समेत छुट्टी लिन, ढिला आउने खासै आपत्ति देखिदैन हाम्रो समाजमा । फुर्सद यतिसम्म कि बाटोमा डोजरले काम गरिरहेको हेरेरै पनि २/४ घण्टा विताइदिन्छौं ।

केही चाहिदैन । डोजर चलेको छ । हात बाँधेर साइडमा उभिएर हेरेको हेरै ! मानौं त्यो डोजरले सुनका डल्लाहरु निकाल्छ र त्यो हेर्नेहरुले दामासाहीले बाँडेर लिन पाउँछन् । फुर्सद हेर्नुहोस् । यतिसम्म पनि भएको छ कि एउटा मानिसले आकाश तिर त्यतिकै औंला देखाउँछ । अर्कोले के रहेछ भनेर हेर्छ । त्यसपछि अरु चार जना थपिन्छन् ।

सबका सब आकाश तिर हेर्छन्, एकैछिनमा भिड जम्मा हुन्छ । के भएको हो ? किन भएको हो ? सबलाई चासो छ । फुर्सदै फुर्सद छ । सानो सडक दुर्घटना हुन्छ, बाटोमा गुड्ने बाइक, गाडी, मान्छे, सबजना एकैछिनमा जम्मा भैहाल्छन् । के भो हँ ? के भो हँ ? भन्दै सोध्ने भिड २÷३ घण्टासम्म त्यही अल्मलिन्छ ।

घटना भएपछि के भएको रहेछ हँ ? भनेर यसो हेर्न मन लाग्नु स्वभाविक हो, तर सारा घटना बुझेर, घटनाको चर्चा परिचर्चा गरेर साथीभाईलाई फोन गरेर भन्न भ्याउने भनेपछि कति फुर्सद भएको होला हामीलाई ! व्यस्त शहरतिरका आकाशेपुलमा हेर्नुपर्छ त्यतिकै हात बाँधेर र मोबाइल चलाएर बसेका मानिसको हुल नै देखिन्छ ।

दिनभर गुडेका गाडी हे¥यो बस्यो । फुर्सद नै फुर्सद । केही मानिसहरु छन्, जो स्कुल कलेज पढिरहँदा पनि पार्ट–टाइम जागिर खान्छन् र समयको सदुपयोग गर्छन्, केही आय–आर्जन गर्छन् । आर्थिक रुपमा विपन्न परिवारका मानिसमा यस्तो मेहनत देखिन्छ, तर पढाइ खर्च परिवारले व्यहोर्ने विद्यार्थीहरु आफ्नो पकेट खर्च पनि बरु यसो टाउको कनाउँदै बा–आमासँग माग्छन् तर, अहँ काम गर्दैनन् ।

पढाइसँगै काम गर्ने परिपाटी हामीकँहा एकदम न्यून छ । पढाई सकिएपछि मात्र काम खोज्ने परिपाटीले गर्दा मानिसहरुले संघर्ष भन्ने कुरा सिक्नै पाउँदैनन् । विल गेट्स, वारेन बफेट जस्ता धनाढ्य व्यक्तिका छोराछोरीहरुलाई पैसाको कमी थियो होला र ? तै पनि उनीहरु हाइस्कुल सकेपछि साना–तिना काम गरेर आफ्नो खर्चको जोहो गर्दछन् ।

ती देशहरु तिर पनि त आकाशे पुल छन्, घाम तापेर बसे भो । डोजरहरु चल्छन् हेरेर बसे भो । किताबले दिने शिक्षासँगै व्यवहारिक शिक्षाको धेरै ठूलो महत्व छ । केही ठुलाबडा भनिएकाहरुले आफ्ना छोराछोरीले काम गरेर २ पैसा कमाएकोमा गर्व गर्न सक्दैनन् भने त्यहाँ ठूलो समस्या छ ।

शिक्षासँगै संस्कार र व्यवहारिक जीवनमा भइपरी आउने बिषयमा ज्ञान र अनुभव भएनन् भने मानिस स्ववलम्वी हुँदैनन् । छोराछोरीको फर्माइस वा छोराछोरीप्रतिको अधिक मायाले गर्दा पनि एक तहमा भ्रष्टाचार मौलाएको छ । सन्तानलाई संस्कार भन्दा सुख दिने चाहानामा मानिस भ्रष्टाचारी बनेका थुप्रै कथाहरु छन् ।

बाबु आमाले खतरा बाइक किनिदिएकोमा दंग सन्तानहरु बाबुको जागिरबाट मात्रै यस्तो जिवनशैली कसरी सम्भव भयो भनेर सोच्न नै भ्याउँदैनन् । नगरकोट, ककनी, भेडेटार, सौराहा, फेवाताल, रुपाताल, सोच्दै फुर्सद नभएपछि के ताल होला, सोच्न जरुरी छ । कि त विदेश मै गएपछि मात्र काम गर्ने, कि त पढाई सकेपछि एकैचोटी टेवुल कुर्सीमै बसेर काम गर्ने सोच ब्याप्त हुँदा हामी फुर्सदिला भयौं ।

पढाई चल्दै गर्दा स्वदेशमै साना–तीना काम गर्ने बानी परेको मानिस विदेश पुगेपछि एकै पटक सामान्य काम गर्दा पनि आत्तिन्छ । घरमा खाएको थालपनि आमालाई माझ्न लगाउने बानी परेको मानिसले विदेशमा एक ट्रक भाडा माझ्नु परेपछि कति बेहोस हुने !

काम भन्या कामै हो, काम सानो ठूलो हुँदैन भन्ने दिव्य ज्ञान स्वदेशमा आजीवन आउँदैन तर, विदेशमा त पुगेको भोलिपल्टै प्राप्त हुन्छ । त्यसैले थोरै ज्ञान स्वदेशमै लिन प्रयत्न गरौँ । फुर्सद हुँदा खाल्डो खनेको, डोजर चलेको हेरेर बस्नु भन्दा २ पैसा आउने काम गर्ने बानी बसालौं । आँफूले कमाएर साँझ घर फर्किदा २ मूठा साग किनेर जानुस्, आमालाई दिनुस अनि आमाको मुहारमा देखिने खुशी नियाल्नुस् ।

यो कुनै ठूलो आर्दश वा महान नैतिक शिक्षा होइन, एउटा बुहतै सानो कुरा हो । तर जीवनको खुशी यिनै साना–साना कुरा भित्रै लुकेको हुन्छ । भन्दा भन्दै हल्का प्रवचन टाइपको पो भएछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV