२२ श्रावण २०७६, बुधबार

काठमाडौं । आफूले बोल्दै नबोलेको कुरा विभिन्न सत्तचारमाध्यमहरुमा आएको भन्दै माउन्टेन टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रामेश्वर सापकोटाले आपत्ति जनाएका छन् । फेसबुक अकाउन्टमा प्रेस वक्तव्य निकाल्दै सञ्चारकर्मी सापकोटाले माउन्टेन टेलिभिजनमा कार्यरत आफ्नो सहकर्मी शालिकराम पुडाशैनीको मृत्युको विषयलाई लिएर केही मिडियाले आफ्नो नाम जोडेर भ्रम फैलाउने गरी समाचार सम्प्रेशन गरेकोप्रति आपत्ति जनाएका हुन् ।

उनले फेसबुकमा प्रेस वक्तव्य जारी गर्दै चितवनको पोखरा बसपार्कस्थित एक होटलमा पुडासैनीको झुण्डिएको अवस्थामा शव फेला पारिएको घटनापछि आफ्नो नाम जोडेर केही अनलाइन पत्रिकाले समाचार प्रकाशित गरेकोप्रति आफू आश्चर्यचकित भएको जनाएका छन् । साथै आफूले भन्दै नभनेको कुरा समाचारमा आएकोप्रति घोर आपत्ति समेत जनाएका छन् ।

उनले समाचारको विषयलाई लिएर आफूलाई सम्बन्धित अनालाइनका कुनै प्रतिनिधिले सम्पर्क नगरेका बताएका छन्, भने सो घटनाको विषयमा आफूले कसैसँग केही कुरा गर्दै नगरेको विषयलाई लिएर मेरो नाम जोडिएर कसरी समाचार आयो ? भन्दै प्रश्न समेत गरेका छन् ।

यस्तो छ सञ्चारकर्मी सापकोटाको प्रेस वक्तव्यः

प्रेस वक्तव्य

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार सहकर्मी शालिकराम पुडासैनीको मिति २०७६ साल साउन २० गते अकल्पनीय रुपमा मृत्यु भएको खबरले म स्तब्ध भएको छु । मिशन न्यूजमा कार्यरत सहकर्मी पुडासैनीको निधनले म अत्यन्त दुखित भएको छु । चितवनको पोखरा बसपार्कस्थित एक होटलमा पुडासैनीको झुण्डिएको अवस्थामा शव फेला पारिएको घटनापछि मेरो नाम जोडेर केही अनलाइन पत्रिकाले समाचार प्रकाशित गरेकोप्रति म आश्चर्यचकित भएको छु ।

मैलै भन्दै नभनेको कुरा समाचारमा आएकोप्रति म घोर आपत्ति जनाउदछु । समाचारको विषयलाई लिएर मलाई सम्बन्धित अनालाइनका कुनै प्रतिनिधिले सम्पर्क नगरेको र सो घटनाको विषयमा मैले कसैसँग केही कुरा गर्दै नगरेको विषयलाई लिएर मेरो नाम जोडिएर कसरी समाचार आयो ? मैलै पत्याउनै सकिरहेको छैन ।

म आफैं पनि लामो समयदेखि पत्रकारिता क्षेत्रमै क्रियाशील रहेको छु । पत्रकारलाई नै अचम्ममा पार्ने गरी आएको यस्तो कपोलकल्पित समाचार र त्यसपछि मेरो मोबाइलमा आउने तारन्तरको फोनले म मर्माहत भएको छु । घटनास्थलकोबारेमा राज्यको प्रहरी संयन्त्रले गम्भीर अनुसन्धान गरिरहेको विषयमा भ्रम फैलाउने गरी मेरो नाम जोडी समाचार आएकोमा मेरो गम्भीर आपत्ति छ ।

सहकर्मी गुमाउँदाको पीडाले म र मेरो टेलिभिजनमा कार्यरत सम्पूर्ण सहकर्मीहरु अत्यन्त दुःखी भएको बेला मैले भन्दै नभनेको कुरा मेरो भनाइ भनी छापिनु दुःखद र निन्दनीय छ । सहकर्मी शालिकराम पुडासैनीको अकल्पनीय निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
उहाँको मृत आत्माले चिरशान्ति पाओस भन्दै यस दुःखद घडीमा उहाँको शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी प्रार्थना गर्दै समवेदना व्यक्त गर्दछु ।

रामेश्वर सापकोटा
माउण्टेन टेलिभिजन
२०७६/०४/२२

प्रतिक्रिया दिनुहोस्
LIVE TV