२२ श्रावण २०७६, बुधबार

काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधानअनुसार राज्यका हरेक निकायमा महिला सहभागिताको प्रतिनिधित्व हुँदै गएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा महिला मन्त्रालयका जिम्मेवारी सम्बन्धमा सांसदहरुले सोध्नुभएको मौखिक प्रश्नको जवाफ दिँदै उहाँले सङ्घीय संसद्मा ३१ दशमलव पाँच, प्रदेशसभामा ३४ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव पाँच प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएको उल्लेख गर्नुभयो । साथै उहाँले राज्यका अन्य निकायमा पनि संविधानअनुसार महिलाको प्रतिनिधित्व लागू हुँदै गएको अवगत गराउनुभयो ।

file photo

बैठकमा नेपाली काङ्ग्रेसका उमा रेग्मीले संविधानअनुसार राज्यका सबै निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व किन हुन नसकेको भनी प्रश्न गर्नुभएको थियो ।

काङ्ग्रेसकै पुष्पा भुसाल र डिला सङ्ग्रौलाले सरकारले महिला प्रतिनिधित्वका बारेमा प्रतिबद्धता मात्रै गरेको तर व्यवहारमा किन कार्यान्वयन गर्न नसकेको भनी प्रश्न गर्नुभएको थियो । साथै उहाँहरुले सङ्घीय मन्त्रिपरिष्दमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व हुन नसकेको र सातै प्रदेशमा एक जना पनि महिला मुख्यमन्त्री किन नभएको भनी प्रश्न गर्नुभएको थियो ।

जवाफमा मन्त्री थापाले संविधानले महिलालगायतको समुदाय र वर्गको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेबमोजिम तीनै तहमा लागू हुँदै गएको बताउनुभयो । साथै उहाँले बाँकी निकायमा पनि सहभागिताका निम्ति विद्यमान कानून परिमार्जन र नयाँ कानून बनाउने सम्बन्धमा मूल्याङ्कन गरी छलफलका क्रममा रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV