२२ श्रावण २०७६, बुधबार

सोलुखुम्बु । स्थानीय तहको निर्वाचन बहिष्कार गरेका सोलुखुम्बुको तिङ्लावासीले उपनिर्वाचन माग गरेका छन् ।

‘उम्मेदवारी पनि नदिने, मतदान पनि नगर्ने’ नाराका साथ स्थानीय तहको निर्वाचन बहिष्कार गरेका तिङ्लावासीले आफ्नो माग पूरा भएपछि उपनिर्वाचन माग गरेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा तिङ्लामा कुनै पनि पार्टीले उम्मेदवारी नै दिएका थिएनन् ।

त्यति मात्र होइन, प्रदेशसभा र संघीय संसद्को निर्वाचनमा समेत यहाँका वासिन्दा कसैले पनि मतदान गरेनन् । त्यतिबेला निर्वाचन आयोगले मतदानका लागि बिहान ७ देखि ५ बजेसम्म मतपेटिका राखे पनि एकै जनाले पनि मतदानमा भाग लिएनन् ।

गोरखापत्र दैनिक लेख्छ – राज्य पुनःसंरचनाका क्रममा साविकको तिङ्ला गाविसलाई नेचा सल्यान गाउँपालिकामा समावेश गरेर अन्याय गरेको भन्दै सोलु दूधकुण्ड नगरपालिकामा समावेश गराउन आन्दोलित बनेका तिङ्लावासीले त्यस बेला निर्वाचनमा भाग नलिएका हुन् । अहिले माग पूरा भइसकेको छ ।

तिङ्लाका बालकुमार कार्कीले भने, ‘अब हाम्रो सबै समस्या समाधान भइसकेको छ । जनप्रतिनिधि नहुँदा कतिपय कुरामा समस्या हुने भएकाले मंसिरमा हुने उपनिर्वाचनमा तिङ्लालाई पनि समावेश गर्नुपर्छ ।’ पटक–पटक आन्दोलन गर्न बाध्य नबनाउन सरकारसँग उनको माग छ । याे खबर आजकाे गाेरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV