२१ श्रावण २०७६, मंगलवार

काठमाडौं । अन्ततः निर्माण क्षेत्रमा काम गर्दै आएको रमण कन्स्ट्रक्शन कालोसूचीमा परेको छ । आफूलाई निर्माण क्षेत्रको ‘मुखिया’ ठान्ने रमणले हुलाकी राजमार्ग अन्तर्गतको नारायणी नदीको पूल निर्माण नगरेकै कारण कालोसूचीमा परेको हो ।

निर्माण क्षेत्रमा आफूलाई अब्बल ठान्ने रमण कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । हुलाकी सडक अन्तर्गतको नारायणी नदीमाथिको मोटरेवल पुल निर्माण गर्न नसकेका कारण रमणलाई सरकारले कालोसूचीमा राखेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुलाकी सडक निर्देशनालय टेकुले रमण–पप्पु जेभीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा रमणको नाम कालोसूचीमा थपिएको हो ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपननियम (२) अनुसार दुवै निर्माण कम्पनीलाई कारबाही गरेको कार्यालयले जनाएको छ । खरिद नियमावलीको यो दफामा कालोसूचीमा परेका निर्माण कम्पनीले यसको टुंगो नलागेसम्म नयाँ सार्वजनिक खरिद कार्यमा भाग लिन नपाउने व्यवस्था छ ।

सर्वोच्च अदालतबाट असार २३ गते हुलाकी राजमार्ग निर्देशनालयको असार १२ र १७ गतेका निर्णयहरु यथास्थितिमा राख्न आदेश जारी भएको थियो । सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपननियम (२) मा ३ बर्षसम्म कालोसूचीमा राख्न सकिने व्यवस्था छ ।

तर, रमणलाई कति अवधिसम्मका लागि कालोसूचीमा राखिएको हो भन्नेबारे भने कार्यालयले खुलाएको छैन । रमणसँगै पप्पुको पनि उस्तै हालत छ । काठमाडौंको तीनकुनेस्थित बागमती नदीमा पप्पुले निर्माण सुरु गरेको आर्कब्रिजको डिजाइन त्रुटिपूर्ण देखिएकाले दुई महिनाअघि संसदको विकास तथा प्रविधि समिति बैठकले निर्माणको काम तत्काल रोक्न निर्देशन दिएको थियो ।

पप्पु र रमण निर्माण कम्पनीले जोइन्ट भेन्चरमा काम गरिरहेको हुलाकी राजमार्ग निर्माणका क्रममा सार्वजनिक खरिद नियमावली ०६४ को नियम मिचेकाले कार्यालयले यी दुवै निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सांसद् हरिनारायण चौधरी संस्थापक रहेको पप्पु कन्स्ट्रक्सन यसअघि नै ३ बर्षको लागि कालोसूचीमा राखेको छ । हरिनारायणले पदीय मर्यादाका कारण अहिले यसको जिम्मेवारी आफ्ना छोरालाई सुम्पेका छन् ।

उता विवादमा तानिएको रमणले धरहरा पुनःनिर्माण गरिहेको छ । तर काम सन्तोषजनक नभए पनि मेलम्ची र भेरी बबई डाइभर्सन आयोजनामा समेत रमणलाई नै ठेक्का दिने तयारी भइरहेको थियो । रमण कन्स्ट्रक्सन कम्पनी बलराम महतोको हो ।

LIVE TV