२१ श्रावण २०७६, मंगलवार
  • सुमन कार्की

पाल्पा । नेपाल आदिवासी जनजाति महासंघ पाल्पाले २५ औँ विश्व आदिवासी दिवस विबिध कार्यक्रम सहित मनाउने भएको छ । महासंघले संविधानको पूर्ण कार्यान्वयनको माग सहित साप्ताव्यापी रुपमा कार्यक्रम गरेर विश्व आदिवासी दिवस मनाइने जनाएको छ ।

महासंघ पाल्पा शाखाले सोमबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केहरसिंह रानाले संविधानको मर्म अनुसार वर्तमान सरकार चल्न नसकेको आरोप लगाए । देशमा फेरी पनि द्वन्द्व चाहने तत्व सक्रिय रहेको भन्दै सबैको अपनत्व हुने गरी संविधानमा भएका व्यवस्थाहरूको कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने केयर सिंह रानाले बताए ।

संविधानमा उल्लेख भएको समावेशी र समानुपातिक सिद्धान्त अनुसार अहिले लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन संविधानको भावना अनुसार नभई संघीयताको बिपरीत रहेको अध्यक्ष रानाको दावी छ ।

नेपाल आदिवासी महासंघ पाल्पा शाखाले २५ औं विश्व आदिवासी दिवसका अवसरमा जिल्ला भित्र सक्रिय रहेका विभिन्न जातीय तथा भाषिक संघ संस्थासँग छलफल अन्तक्रिया गर्ने, पत्रकार भेटघाट गर्ने, चित्रकला प्रतियोगिता गर्ने, जातीय सद्भाव कायम गर्न सर्वपक्षीय अन्तरसंवाद गर्ने, आदिवासी जनजाति सम्बद्ध लोक संस्कृतिमा आधारित खुल्ला नृत्य प्रतियोगिता गर्ने र सबैको सहभागितामा मूल समारोह गर्ने कार्यक्रम तय गरेको छ ।

साउन १८ गतेदेखि नै विविध कार्यक्रम गरिरहेको जानकारी दिदैँ साप्ताव्यापी कार्यक्रम साउन २४ गतेसम्म गर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV