२० श्रावण २०७६, सोमबार

काठमाडौँ । प्रदेश नं ३ सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले आफूहरु युवा उद्यमीको लगानी बढाउन लागिपरेको बताउनुभएको छ । मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले संयुक्त रुपमा आयोजना गर्न थालिएको ‘युवा उद्यमशीलता सम्मेलन’को जानकारी गराउन आज यहाँ आयोजित कार्यक्रममा उहाँले युवालाई उद्यमशीलतामा आकर्षण गराउनका लागि आवश्यक पर्ने स्रोत, साधन र सोचको विकास गराउने बताउनुभयो ।

सम्मेलन अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा यही साउन २७ र २८ गते देशभरका उद्यमशील सोच राख्ने युवाको सहभागितामा सम्मेलन हुन लागेको हो । मन्त्री नेपालले उद्यमी बन्नका लागि सीप, दक्षता, आत्मविश्वास, पूँजी र लगानीको वातावरण चाहिने भन्दै उद्यमशीलताको उपयुक्त अवसर निमार्णमा पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सम्मेलन उद्यम गर्न चाहने नेपाली युवाका लागि महत्वपूर्ण ठाउँ हुने भन्दै नेपाली युवा उद्यमीलाई प्रोत्साहन मिल्नाका साथै उद्यम गर्न चाहनेका लागि लगानीको क्षेत्र पहिचानमा सहयोग पुग्ने बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्मेलनले ७७ वटै जिल्लामा रहेका युवामाझ सकारात्मक सन्देश जाने र यस्ता खाले सम्मेलनले देशभित्र तथा बाहिरका युवामा उद्यम गर्ने उत्साह र आत्मबिश्वास बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा उद्यमशीलताका नवीनतम् अवसरको खोजी गर्ने र उद्यमशीलताको सोच भएका तर लगानीका लागि पर्याप्त पूँजी नभएका युवाका लागि लगानीबारे लगानीकर्तासँग छलफलसमेत गर्ने सम्मेलन संयोजक विशाल गैरेले जानकारी दिनुभयो । सम्मेलन ११ वटा कक्षामा ४० भन्दा बढी वक्ताले युवा उद्यमशीलताका बारेमा विचार राख्नुहुनेछ ।

LIVE TV