विलासी गाडी खरिद गर्न उदार सुदूरपश्चिम प्रदेश सरकारले विकास बजेट भने खर्च गर्न सकेन (भिडियो)



प्रकाशित मिति : Aug 05, 2019

१.विलासी गाडी खरिद गर्न उदार सुदूरपश्चिम प्रदेश सरकारले विकास बजेट भने खर्च गर्न सकेन
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्षमा ६० प्रतिशतको हाराहारीमा मात्र बजेट खर्च गरेको छ । सरकारले बिभिन्न कानूनी अड्चन , कर्मचारी अभावको कारण बजेट खर्च गर्न नसकिएको दावी गर्दै गर्दा प्रतिपक्षीले भने भएको खर्च बढाउने नाममा पनि व्यापक भ्रष्टाचार गरिएको आरोप लगाएको छ ।

अभ्यासकै चरणमा रहेका संघीयताको जरोलाई बलियो बनाउने महत्वपूर्ण जिम्मेवारी पाएको प्रदेश सरकारको काम र खर्च गराई भने गत आर्थिक बर्षमा निराशाजनक नै देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि अन्य प्रदेश भन्दा आफुलाई अलग राख्ने नसकेको अवस्था विद्यमान हुँदा ठूलो बजेट मन्त्री , कर्मचारीको सुविधाका लागि विलासी गाडी खरिदमा उडाउनुले पनि उस्को कार्यशैली छर्लङ्ग बनेको छ ।

प्रदेश सरकारलाई अझै पनि सहज देखिएको सजिला उदाहरण हुन – कर्मचारी जनशक्तिको अभाव, कानूनको अभाव , भौतिक संरचनाको अभाव । यही कारण बजेट खर्च गर्न नसकेको दावी गर्ने प्रदेश सरकारले विलासी गाडी खरिदमा उदारता देखाउनुलाई भने अचम्म मानिएको छ । यता प्रतिपक्षी दल काँग्रेसले भने योजना वितरणदेखि विकास निर्माणको साना तिना काममा समेत कार्यकर्ता पोसेर अचाक्ली नै भ्रष्टाचार गरिएको आरोप लगाउदै आएको छ ।

२.धनगढीमा कपडा बैंक ः आवश्यकता परेकोले लिने,आवश्यकता भन्दा बढी भएकोले दिने
समाजमा सहृदयी र सहयोगी मनहरुको अभाव छैन । मर्दापर्दा एक जुट हुने नेपालीको शैली र संस्कारलाई समाजमा अझै बलियो बनाउन कैलालीको धनगढी उपमहानगरपालिकामा अर्को सत्यप्रयासको थालनी गरिएको छ ।

जैविक विविधताले भरिपूर्ण यो मुलुकमा भौगोलिक वनावटका कारण पनि समय समयमा विपत्ति पनि बज्रिदै आएको छ । जलवायु परिवर्तनको कारण अनौठा प्राकृतिक प्रकोपहरुको सामना पनि गर्न थालेका नेपालीले अब कुन बेला के विपत्ति भोग्नु पर्ने हो भन्ने बारेमा सजग समेत बन्नु पर्ने अवस्था आएको छ । मुलुकमा विपत्ति पर्दा राहतको वितरण कति झण्झटिलो छ भन्ने धेरै घटनामा पुष्टि भइसकेको अवस्थामा धनगढी नगरपालिकामा निजी क्षेत्रको पहलमा कपडा बैंकको स्थापना गरिएको छ ।

‘गरीबलाई बाड्ने धनीले दिने नभइ आवश्यकता परेकाले लिने, आवश्यकता भन्दा बढी भएकाले दिने’ अवधारणामा सुरु गरिएको कपडा बैंकमा जम्मा भएका कपडाहरु दैवी विपत्तिमा परेकाहरुलाई वितरण गरिने लक्ष्य पनि लिइएको छ । यस्तो सतप्रयास देशभर नै सुरु गरिए कुनै पनि नेपालीको आङ्ग अब नाङ्गो हुने छैन नै । त्यसमाथि आपत्त विपत्तमा तत्काल र सहजै कपडा वितरण गर्न पनि सहज हुने छ । धनगढीले सुरु गरेको एउटा सतप्रयासलाई सलाम छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com