२० श्रावण २०७६, सोमबार
  • तारा आचार्य

विराटनगर, २० साउन । खेतीपातिको मौसममा मोरङका किसानहरुले महंगोमा डिएपी मल किन्नु परिरहेको छ । धान रोप्नु अघि डिएपी मल छरेर धान रोप्ने गरेकोमा मल ढिलो आएपछि उनीहरुले धान रोपिसकेपछि महंगोमा मल किनेर छरिरहेका छन् । यति वेला साल्ट्र ट्रेडिङ कर्पोरेशनले ५ हजार मेट्रिक टन डिएपी मल ल्याएपछि कृषकहरुले मल पाउन थालेका हुन् ।

साल्ट्र ट्रेडिङ कर्पोरेशनले ल्याएको मल सहकारी संस्थाहरु मार्फत गाँउ गाँउमा किसानहरुलाई विक्री गर्दै आएको छ । सहकारीहरुले पर्याप्त मल नभएको भन्दै प्रति किलो ५० रुपैयाँमा डिएपी मल बेच्दै आएको किसानहरुले गुनासो गरेका छन् । तर सहकारीहरुले भने तोकेको मूल्य भन्दा बढी किसानसंग मूल्य नलिएको दावी गर्दै आएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरले सहकारीलाई ५० किलोको डिएपी मल प्रति बोरा २ हजार १ सय ५० रुपैयाँमा बेच्ने गरेको छ । सहकारीले भने ढुवानी भाडा जोडेर प्रति बोरा २ हजार २ सय ५० रुपैयाँ सम्ममा बेच्नुपर्नेमा खुला र विक्री भन्दै २ हजार ५ सय रुपैयाँ प्रति बोरा सम्ममा बेच्ने गरेको पाइएको छ । स्थानीय निकायले तोकेको मूल्य भन्दै सहकारीले मलको मूल्य तोकेर बेच्ने गरेको पाइयो ।

साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरले बढी मूल्य लिएर मल बेचेको पाइए कारवाही गर्ने चेतावनी समेत दिएको छ । तर यसको अनुगमन कस्ले गर्ने र कारवाही कस्ले गर्ने भन्ने अत्तोपत्तो छैन ।

साल्ट ट्रेडिङ कर्पोरेशन विराटनगरले धान खेतीका लागि मगाएको ५ हजार मेट्रिक टन डिएपी र ५ हजार मेट्रिक टन युरिया मध्ये ४ हजार ८ सय मेट्रिक टन डिएपी र १ हजार ५ सय मेट्रिक टन युरिया आईसकेको छ भने अरु मल आउने क्रममा रहेकाले अव भने मलको अभाव नहुने सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV