१९ श्रावण २०७६, आईतवार

काठमाडौं, १९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले भोलि संसद सुचारु हुने स्पष्ट पारेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा नेपालले ठंडा दिमागले सोच्ने र वार्ता तथा सहमतिको माध्यमबाट समाधान खोज्ने हो भने भोलि बस्ने सदन सुचारु हुने उनको विश्वास छ । उनले भने, ‘हामी अहिलेपनि अन्तरकुन्तरमा छलफल तथा वार्ता गरिरहेका छौं । भोलि सदन सुचारु हुन्छ भन्ने कुरामा हामी आशावादी छौं ।’

आइतबार एक साक्षात्कारमा बोल्दै गुरुङले सदन खोल्नको लागि वार्ता गर्नुपर्ने धारणा राखे । उनले भने,‘संसद अवरुद्ध गर्दा कांग्रेसलाई पनि घाटा छ । आफ्ना कुरा सदनमा राख्ने हो ।’ उनले सर्लाहीका तीन वटा घट्नालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नु नै गलत भएको बताए ।

‘असार ५ गते घट्नाको सवालमा भोलिपल्ट असार ६ गते राष्ट्रिय मानवअधिकार आयोगले छानबिन सुरु गरेको छ । अहिलेसम्म उक्त घटनामा संलग्न ११ जना प्रहरीमध्ये दश जनाको बयान लिने काम भैसकेको छ । अब केही दिनभित्रै रिपोर्ट सार्वजनिक गर्छ,’ उनले भने ।

मानवअधिकार आयोगले छानबिन गरेर प्रतिवेदन सार्वजनिक गर्न लागेको अवस्थामा फेरि अर्को छानबिन समिति बनाउन माग गर्नु गलत भएको पनि गुरुङको भनाई छ । उनले भने, ‘त्यस्तो अवस्थामा संसदीय छानबिन समिति बनाउनुपर्छ भनेर माग गर्नु कत्तिको उपर्युक्त हुन्छ ? लोकतान्त्रिक मूल्य र मान्यताबाट हेर्दा र विधिको शासनको लेन्सबाट हेर्दा यो गलत छ ।’

संसदीय छानबिन समिति बनाउने नीतिगत कुरा भएको र मानवअधिकार आयोगले गर्ने छानबिन न्यायिक हुने पनि उनले तर्क गरे । उनले भने, ‘न्यायिक छानबिन भनेको कार्यान्वयनको सवालमा पनि बाध्यकारी हुन्छ । कानूनी र न्यायिक रुपमा छानबिन चलिरहेको अवस्थामा फेरि संसदीय छानबिनको माग गर्नु भनेको त नीतिगत छानबिनको माग गर्नु हो । हो, यदि मानवअधिकार आयोगको प्रतिवेदन चित्त बुझेन भने त्यो अवस्थामा सोच्न सकिन्छ । संसद सञ्चालन नियामावलीले प्रष्ट रुपमा क्षेत्राधिकार तोकिदिएको छ ।’

त्यस्तै, उनले असार १४ र १५ गतेको घट्नाको सवालमा कांग्रेसले उठाएका माग तर्कसंगत नभएको पनि जिकिर गरे । उनले भने,‘उहाँहरुले जुन कुरा उठाउनुभएको छ, त्यो प्रक्रियागत पनि गलत छ । तर, छानबिन समिति गठन गर्ने माग सिद्धान्तः हुनसक्छ ।’

कांग्रेसले छानबिन समिति गठन गर्न माग गर्नु नै गलत भएको उनको दाबी छ । उनले प्रमुख प्रतिपक्षी दल कांग्रेस गैरजिम्मेवार रुपमा प्रस्तुत भएको जिकिर गरे । उनले भने, ‘जुन किसिमले कांग्रेसले संसद अवरुद्ध गरेको छ, त्यो गतल छ । आज २५, २६ दिनसम्म संसद अवरुद्ध भएको छ । चार, पाँच वटा बैठक अवरुद्ध भैसक्यो ।’

असार १४ र १५ गते सर्लाहीमै घटेका घट्नाको बारेमा पनि असार १८ गते सर्वदलीय बैठक बसि सहमति भैसकेको उनले सुनाए । उनले भने, ‘चार वटै पार्टीका नेताहरु बसेर १४ बुँदे सर्वपक्षीय सहमति भैसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV