१८ श्रावण २०७६, शनिबार
  • तारा आचार्य

विराटनगर, १८ साउन । गत मार्च २७ मा सम्पन्न गर्नुपर्ने विराटनगरको बुधनगर स्थित निर्माणधिन एकिकृत भन्सार जाँच चौकी यही अगस्ट महिनामा सम्पन्न गरी हस्तान्तरण गर्ने तयारीमा ठेकेदार कम्पनी जुटेको छ ।

करिब ६ करोड रुपैया बराबरको निर्माण सामग्रीहरुको भन्सार छुटको विषयमा सहमति भएपछि निर्माणाधीन एकीकृत भंसार जाँच चौकी आईसिपीको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

भारत सरकारको करिब १ सय १४ करोड भारतिय रुपैया सहयोगमा भारतिय ठेकेदार कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकनले सो भंसार चौकी निर्माण गरिरहेको छ । सो एकिकृत भंसार जाँच चौकीका मास्टर लिष्ट अनुसारका निर्माण सामग्रीहरु भंसार छुटमा आउन थालेपछि निर्माण कार्यले गति लिएको प्रोजेक्ट मेनेजर अवधेस कुमार साहले बताउनु भयो ।

केही समय निर्माण सामग्रीहरु भंसार पारीनै रोकिएर रहेका कारण निर्माणमा ढिलाई भएको थियो । विराटनगर भंसार कार्यालयले अहिले जाँच चौकीका सामानहरु छिटो र सहज रुपमा जाँच पास गर्ने गरेको भंसार अधिकृत मणिराम पौडेलले जानकारी दिनुभयो ।

सो भंसार जाँच चौकी २४ महिना भित्र निर्माण सम्पन्न गर्ने योजना रहेकोमा शहरी विकास मंत्रालय र अर्थ मंत्रालयको कानुनी प्रक्रियाका कारण ५ महिना ढिलो निर्माण सम्पन्न हुने भएको हो । मास्टर लिष्टमा भएका सामग्रीहरु भंसार छुटमा विराटनगर नाकाबाट छिटो आयात गर्न दिएको भए करिब ३ महिना अघि नै निर्माण सम्पन्न भईसक्ने ठेकेदार कम्पनीले दाबी गरेको छ ।

एकिकृत जाँच चौकी भित्र ७ वटा भवन, दुई वटा वेयर हाउस, दुई वटा प्रोसेसिङ यार्ड, दुई वटा धर्मकाँटा र एउटा एनिमेल सेड रहेको छ । भवनहरु निर्माण भईसकेपछि फर्निचर लगायतका भौतिक सामग्रीहरु मात्र राख्नुपर्नेछ । भारत तर्फको एकिकृत भंसार जाँच चौकी भने करिब दुई वर्ष अघि नै निर्माण सम्पन्न भइसकेको छ ।

LIVE TV