१८ श्रावण २०७६, शनिबार
  • नविन कुलुङ

‘राम्रो पढ्छु, आफ्ना खुट्टामा आफैँ उभिन्छु, जीवनमा केही गर्नु छ, पुरूष भन्दा महिला कम हुनुहुँदैन, अरूसित आश्रित हुनुहुँदैन, आश्रित भयो भने हेप्छन् ।’ अहिलेका प्राय सबै महिलाहरू यसै भन्छन् । तर विडम्बना के छ भने पुरूष भन्दा महिला कम्जाेर नभए पनि श्रीमान भन्दा श्रीमती चाहिँ किन कम्जाेर नै हुन्छन् । महिला पुरुष एक रथको दुई पाङ्ग्रा हुँदा श्रीमान् र श्रीमती चाहिँ एक रथको दुई पाङ्ग्रा भएकाे खासै देखिँदैन।

पुरुष भन्दा महिला कम्जोर भन्न कसैले पनि रुचाउँदैनन्, महिलाहरू कमजोर भन्न पनि मिल्दैन । वास्तवमै महिला कम्जोर हुने पनि होइनन्, कम्जोर बनाइने हो । तर कसले ? समय, परिस्थिति, पुरुष, दोस्री महिला वा आफैले महिलालाई कम्जोर बनाउँदै छन् ? यो प्रश्नको जवाफ त्यति सजिलो छैन ।

खासमा भन्नु पर्दा पुरूषकाे विभिन्न कम्जाेरीले नै महिलाहरू कम्जाेर हुने गरेका छन् । पुरुषहरूकाे एकाधिकारवादी संकिर्ण सोच र सँधै जित्नै पर्ने प्रवृतिका कारण महिलाहरु कम्जाेर बन्दै गएका छन् । त्यसैले त विवाह गर्ने बेला पुरूषहरूले प्राय: आफूभन्दा कम उमेरकी महिलालाई रोज्छन् ।

अञ्जली (नाम परिवर्तन) उनी कम्जाेर महिला थिइनन् तर अहिले उनले आफैले आफैलाई कम्जोर महसुस गरेकी छिन् । उनी किन कम्जाेर भइन् ? आफैले आफैलाई किन कम्जाेर महसुस गरिन् ?

कक्षा ११/१२ पढ्दाको मेराे सबै भन्दा मिल्ने साथी अञ्जली । अहिले उनकाे घर काडाँघारीमा छ, विवाह भएकाे पाँच वर्ष भयाे, परिवार सम्पन्न/ खानदानी छ । उनले श्रीमन पनि राम्राे जगिरे पाएकी छिन्, डाक्टर । भक्तपुरको एक हस्पिटलमा काम गर्छन् ।

उनीसँग भेट नभएकाे पनि पाँच वर्ष नै भएकाे थियाे । गत असार तीन गते मात्रै उनीसँग भेट हुने मैका मिल्याे, उनकाे जन्मदिनकाे अवसरमा । असार तीन गते मंगलबार परेकाे थियाे । मंगलबार मेरो लागि शनिबार हाे अर्थत अफिस बिदाकाे दिन, आठ बजे मात्रै उठे । उठेर केही कपडाहरुल धोए, नुहाए । त्यसपछि खान खाएर फेसबुक खोलेको मात्रै थिए अञ्जलीलाई अनलाइनमा देखे, उनललाई फेसबुकबाटै जन्मदिनकाे शुभकामना दिए ।

विवाह अघि उनको जन्मदिन खुब रमाइलो गरी मनाइन्थ्यो । पहिला मनाएको उनको जन्मदिनको खुब याद आयो र उनलाई भेट्न मिल्छ ? भनेर प्रश्न गरे । उनले एक घण्टा जति मिल्ने बताइन् । उनको घरमै जान अप्ठयारो लाग्यो, बाहिर नै भेट्ने प्रस्ताव गरे उनले पनि मानिन् ।

एक घण्टाको अवधिमा उनले पाँच वर्षको सबै मनको कुरा पोखिन् । उनलाई साह्रो न्यास्रो लागेको रहेछ । कक्षा १२ को परीक्षापछि उनको काेही साथीहरूसँग पनि भेट भएको रहेनछ ।

जन्मदिनको खुसी सेयर गर्न गएको म अन्त्यमा मन खिन्न बनाउँदै फर्कनु पर्‍यो, उनको कुरा सुनेर । उनले पहिलो पटक दुखेसो पोखेकी भने होइनन्, कहिलेकहीँ फेसबुकमा कुरा हुँदा पनि पोख्थिन् ।

गत फागुन १४ गते उनलाई फेसबुकमा नै एनिभर्सरी (विवाह वर्षगाठँ)को शुभकामना दिएको थिए । तर उनी म देखि रिसाएकी थिइन । उनलाई सोधे अस्ति एनिभर्सरी शुभकामना दिँदा किन रिसाएकी ? उनले भनिन्, ‘त्यो मेराे एनिभर्सरी होइन, नोकरभर्सरी हो, त्यो दिनदेखि नोकर्नी भएर बस्न परेको छ, त्यो दिन त सम्झिन पनि नपरोस् ।’ त्यो बेला भनेको कुराले उनले माफीसमेत मागिन् ।

२०७१ साल फागुन १४ गते उनले नचाहँदा-नचाहँदै उनकाे विवाह भएको थियो । धर्म, संस्कृति, सामाजिक पृष्ठभूमि मिल्ने र खानदानी केटो माग्न आएपछि उनका बुबाआमाले उनकाे इच्छाविपरित नै उनकाे परिवारले विवाह गरिदिएका थिए ।

हुन त हाम्रो समाजमा हेर्ने भनेको आर्थिक स्थिति र पढाइलेखाई हाे । आर्थिकस्थिति राम्राे, पढेलेखेका र राम्रो जागिर भएको केटो माग्न आए भने छोरीकाे इच्छा के छ भनेर नसाेधि नै अभिभावकले विवाहकाे मिती ताेकिदिन्छन् ।

अञ्जलीलाई पनि डाक्टर केटाे माग्न आएपछि उनकाे आमाबुबाले पनि नाई भन्न सकेनन्, अञ्जलीकाे इच्छाविपरित नै विवाह गरिदिएका थिए । अञ्जलीकाे हात माग्न आकाश अधिकारी (नाम परिवर्तन) आएका थिए । उनले चीनमा भर्खरै एमबिबिएस सकाएर नेपाल फर्किएका थिए । आकाश डाक्टर भएकै कारण अञ्जलीकाे अभिभावकले उनलाई नसाेधि नै विवाहकाे गराइदिएका थिए ।

आकाश, अञ्जलीको अभिभावक नजरमा योग्य व्यक्ति थिए । तर अञ्जली भने आकाशलाई राम्रोसँग बुझेका थिएनन् । आकाशले पनि अञ्जलीलाई राम्रोसँग बुझेका थिएनन् । अञ्जलीले आफ्नो अभिभावकलाई आफूले चाहेको के हो भन्ने कुरा खुलस्त बताउन पनि पाएका थिएनन् ।

अञ्जलीले र आकाशको बिहे धूमधामसँग भएको थियो । जन्ती मात्रै तीन/चार सय ल्याएका थिए । अञ्जलीको विवाहलाई सबैले ‘गाउँकै ठूलो विवाह’ भएको भनेका थिए । खानदानी परिवार त्योमाथि पनि डाक्टर केटो, अञ्जली बेहुली हुँदा गहगहरनाले पूरै ढाकिएकी थिइन् । बेहुला-बेहुली दुवै पक्षामा ठूलाे भोज भएकाे थियाे । अञ्जलीले पछि सुनाइन्, विवाहमा सम्पूर्ण खर्च ४०/५० लाख भयो रे ।

आकाशले आफ्नो समाजसेवा गर्ने इच्छा पनि पूरा गर्न दिने अञ्जलीले बताएकी थिइन् । समाजसेवी बन्ने, राजनीति गर्ने, देश बदल्ने, समाज बदल्ने, महिलाहरूको अन्यायको निम्ति लड्ने उनकाे सानैबाट सपना थियो । कलेजको रेडक्रस अध्यक्ष पनि उनी नै थिइन । उनले भन्थी- ‘राम्रो पढ्छु, आफ्ना खुट्टामा आफैँ उभिन्छु, अरूसित आश्रित भयो भने त हेप्छन्, महिलाहरूकाे लागि एउटा खम्बा भएर उभिनु छ ।’

तर अहिले अञ्जली घरसेवीमा तल्लीन छिन् । बिहान पाँचबजेदेखि बेलुका १० बजेसम्म घरको काममा गर्दा हातहरू पट्टपट्ट फुटेको छ । बिहान पाँच बजे उठेर घर पोछा लगाउनेदेखि बेलुकाको खाना खाएका भाँडाकुँडा धुनेसम्म सबै उनकै जिम्मा छ । यता दुई वर्षको बच्चा पनि छ । बच्चालाई पनि हेर्नै पर्‍यो ।

घरकाे काम समयामा नसकिँदा हाेस् या बच्चा रूँदा उनले नै गाली पाउछिन् । उनले भनिन्- ‘बच्चा राेयाे भने पनि सुत्नेलाई डिस्टर्ब हुन्छ भन्दै कराउँछन् ।, एउटा बच्चा पनि हेर्न सक्दिनस् भन्दै कराउनुहुन्छ ।’

उनको याे पीडा कसले देख्ने ? जसलाई उनले आफ्नो आधा जीवन सुम्पिन्, एउटै छानोमुनि बस्छन्, एउटै ओछ्यानमा सुत्छन्, उसलाई त केही मतलब छैन । आकाशलाई अस्पतालको बिरामीको हेरचाह गर्दा नै ठिक्क छ, अरू घरको सदस्यालाई त के मतलब ।

आकाशले विवाह अघि गरेकाे बाचा अञ्जलीले नसुनाएको पनि होइनन् तर आकाशले उल्टै थर्काउछन्- ‘तेरो लेक्चर सुरु नगर’ भनेर । उनले भनिन्, ‘आकाशलाई त घरमा कम गर्ने मान्छे चाहिएको रहेछ त्यसैको लागि मात्रै विवाह गरेका रहेछन्, म आकाशकाे जीवन साथीको रूपमा भन्दा पनि नोकर्नीको रूपमा बसिरहेकी छु, अरूले जे गर भन्यो त्यही गर्नुपर्छ ।’

अञ्जलीले अहिले घरको संघार नाघेर बाहिर आएर विद्रोह गर्न पनि सक्दिनन् । त्यसैले आफूलाई खुम्चाएर बाचिरहेकी छिन् । उनी माइती घर नगएको पनि दुई वर्ष भयो ।, उनले भनिन्, ‘तीज, दशैं-तिहारमा खुब माइती जान मन लाग्छ तर यहाँ आफ्नो पाहुँना टार्न नै भ्याइनभ्याई हुन्छु, माइती त कसरी जानु र ?’

भन्छन्, ‘माटोलाई ढुङ्गाको भर ढुङ्गालाई माटोको’ तर आकाश अञ्जलीको भर कहिल्यै भएनन् । उनले अञ्जलीको सपना कहिल्यै बुझेनन् । यता सासू-ससुरालाई त झनै के वास्ता हुन्थ्यो र ?

अझ सासू त बुहारीले टाउकाेमा टेक्छिछन् भनेर बेलाबेला छाेरालाई नानाथरी कुरा लगाउछिन् । अञ्जली र उनकाे सासूको सम्बन्ध निकै नाजुक छ । हुन त हाम्राे समाजमा नै सासू आमा हुन र बुहारी छोरी हुन सक्दैनन् भन्ने मान्यता रहँदै आएको छ ।

प्राय धेरै सासूहरूले बुहारीले गरेका हरेक काममा कमजोरी, गल्ती देखाएर अरूसँग बुहारीको कुरा काट्ने, कराउने, छोरालाई कुरा लगाउने आदि र्गने गरेका पाइन्छ । ‘अर्काकी छोरी न हो’ भन्दै घरमा काम गर्ने ल्याएको नोकर्नी जस्तो गर्छन् ।

छाेरी अन्माएर अर्काको घर पठाएपछि दु:ख पाउछे भन्दै रूनेहरू बुहारी घरमा भित्राउँदा पनि दु:ख पाउछे भन्दै चिन्ता किन गर्दैनन् ? आफूले चाहिँ बुहारीलाई घरमा सक्दो पेलेर आफ्नी छोरी कसैकी बुहारीको चिन्ता गरेर मात्रै कसरी महिला हिंसाको अन्त्य हुन्छ ?

महिलाको दुई वटा आमाबुबा र दुई वटा घर हुन्छ भन्छन् । आफ्नो जन्मघरकाे आमाबुबा र कर्मघरको आमाबुबा, जन्मघर र कर्मघर । जन्मघरका आमाबुबाले झुक्नै नहुने शिक्षा दिइरहेका हुन्छन् भने कर्मघरका आमाबुबाले लम्पसार परोस् भन्ने चाहन्छन् ।

जन्मघरकाेले ‘खुब मातेकी छस्, सासू कस्ती पर्ने हो ? आमा जस्तो हुँदैनन् सासू’ भनिरहेका हुन्छन् भने कर्मघरकाले ‘छाेरी जस्ताे कहाँ हुन्छ र बुहारी ? छाेरा त सद्दे थियाे, बुहारी कस्ती आउछिन् ? भनिरहेका हुन्छन् । बुहारीलाई पनि आफ्नै छोरीजस्तो माया गर्नुपर्छ भन्ने चाहिँ कसैले पनि साेचेका हुँदैनन् ।

घरमा काम गर्ने मान्छे चहिएको छ भने सिधैँ ‘नेकर्नी’ चाहिएको छ भन्न चाहिँ सक्दैन तर घुमाइफिराई कुरा गरेर बुहारीको रुपमा घरमा काम गर्ने मान्छे खोजीरहेका हुन्छन् ।

‘छोरीले धेरै पढ्नु पर्छ, नपढे अरूले हेप्छन् । अरूको हेपाई सहनु हुँदैन भन्नेले बुहारीले चाहि टाउकाेमा टेकेछन् भनेर सधैँ दबाएरै राख्ने ? छाेरी कुनै कार्यक्रममा गएर नाच्न, गाउन सक्छिन् भने बुहारीले चाहिँ किन सक्दैनन् ? छोरीहरूको लागि मनोरञ्जन गर्ने क्लब, आउटिङ, फिल्म हुँदा बुहारीहरूको लागि त्यो मनोरञ्जन गर्ने ठाउँ किन बन्दैन ?

सबै बुहारी छोरी भन्दा नराम्रो हुँदैनन् । बुहारी छोराभन्दा कैयौँ गुण सबल पनि हुन सक्छे । ज्वाइँले छोरीलाई घरको काम सघाउँदा खुसी हुने हामी छोराले बुहारीलाई सघाउँदा जोइठिंग्रे कसरी हुन्छ ?
आफ्ना छोराछोरीले गर्ने जस्तोसुकै गतल कार्यहरू सजिलै स्वीकार सक्ने हामीले बुहारीले कहिलेकहीँ गल्तीले गरेको गल्तीलाई पनि स्विकार्न सक्नुपर्छ ।

‘महिला पुरुष एक रथका दुई पाङ्ग्रा’ भन्छन् । एक अर्काका साथ पाएरसम्म समाज बिकसित,सभ्य,अर्थपूर्ण र शान्तिपूर्ण हुँदैनन् । महिला कसै न कसैकी आमा, दिदीबहिनी, स्वास्नी, साथी वा कुनै आफन्त हुन् । उनी कमजोर हुनु भनेको घर कमजोर हुनु हो, पुरुष कमजोर हुनु हो र समाज कमजोर हुनु हो। त्यसैले महिलाहरुले आफ्नो सोचलाई कमजोर बनाएर कमजोर हुनुहुँदैन,उनीहरुलाई कमजोर बनाइनु पनि हुँदैन।

प्रतिक्रिया दिनुहोस्
LIVE TV