१८ श्रावण २०७६, शनिबार

काठमाडाैं । सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप प्रगाढ बनाउन दुवै पक्ष प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिइएको छ । नेपाल भारत मैत्री समाजले ‘वर्तमान स्थितिमा नेपाल भारतबीचको सहयोग र सम्भावना’ विषयक अन्तरक्रियाका वक्ताले जनस्तरको प्रगाढ सम्बन्धलाई विस्तार गर्दै लैजानुपर्ने बताएका हुन् ।

भारतको विदेश मामिला विभागका प्रमुख विजय चौथाइवालले भारत र नेपालबीच विशिष्ट तथा सुमधुर सम्बन्ध रहँदै आएको बताउनुभयो । उहाँले नेपाललाई भारतले बढी महत्व दिएको र यसै सिलसिलामा भारतीय प्रम नरेन्द्र मोदीले नेपालको तीन पटक भ्रमण गरेको स्मरण गर्नुभयो । उहाँले भारतका प्रम मोदीले नेपाललाई समानताको आधारमा आपसी विश्वास तथा पारस्परिक सम्मानमा काम गर्न चाहेको स्पष्ट गर्नुभयो ।

पूर्वमन्त्री डा रामशरण महतले नेपाल सङ्घीय प्रणालीमा गइसकेको स्मरण गराउँदै भारतसँग ठूलो व्यापारघाटा भोगिरहेको नेपालालाई भारत पूँजी लगानीको स्रोत बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । पूर्वमन्त्री महेन्द्र राय यादवले नदीको सभ्यतादेखिनै नेपाल भारतबीच प्रगाढ सम्बन्ध रहेको बताउँदै नेपाल र भारतमा वर्षेनी बाढीबाट हुने डुबान दुई मुलुक मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भारतीय प्रम नरेन्द्र मोदी आफ्ना जनताका सुखदुःखप्रति गम्भीर रहेको बताउनुभयो । पूर्वमन्त्री हिसिला यमी, पूर्वमन्त्री सुरेन्द्र चौधरी, बुद्धिजीवी सुन्दरमणि दीक्षित, नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करी र उपाध्यक्ष गोकुल पोखरेल दुई देशबीचको सम्बन्धलाई थप उँचाइमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV