१७ श्रावण २०७६, शुक्रबार
  • सुमन कार्की

पाल्पा । पाल्पाको सदरमुकाम तानसेनस्थित बालमन्दिर आधारभूत विद्यालयमा बालबालिकाको श्रमशोषण भएको छ । जिल्ला प्रहरी कार्यालय नजिकैको उक्त विद्यालयका कक्षा १ देखि कक्षा ३ का विद्यार्थीहरुलाई बिहीबार करिब एक घण्टा ईटा बोकाइएको हो ।

पाल्पा दरवार संग्रालयको भवन परिसरबाट विद्यालयसम्म बालबालिकालाई लामबद्ध राखेर ईटा बोकाइएको विद्यालयका प्रधानाध्यापक पार्वता पौडेलले स्वीकार गरेकी छन् ।

स्वास्थ्य शारीरिक विषयको प्रयोगात्मक शिक्षणको समयमा उनीहरुलाई ईटा बोकाइएको हो । उनका अनुसार शिक्षक अभिभावकले पनि ईटा बोकेका थिए तर, त्यहाँ एकजना मात्रै अभिभावक सहभागी थिए । विद्यालय परिसरमा फूलबारी निर्माण गरी कम्पाउण्ड घेर्न बालबालिकालाई ईटा बोकाइएको हो ।

बालबालिकालाई विद्यालयमा ईटा बोकाउने कार्य सरासर विद्यालयको लापरवाही भएको शिक्षक अभिभावक संघका अध्यक्ष विशाल दर्लामी बताउँछन् ।

तानसेन नगरपालिकाको एकलाख आर्थिक सहयोगमा विद्यालय परिसरमा फूलबारी र खेलमैदान निर्माण कार्य भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज ढकालले बताए । बालबालिकालाई ईटा बोकाएकोबारे भने आफू अज्ञात रहेको उनको भनाइ छ । यदि यस्तो कार्य भएको भए गलत हो, आगामी दिनमा यस्तो कार्य गर्न दिदैँनौँ, अध्यक्षले भने ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV