१७ श्रावण २०७६, शुक्रबार
  • देवराज पन्त

मकवानपुर । भारतीय सीमाबाट नेपाल प्रवेश गरेका भारतीय नम्बर प्लेटका गाडीले सर्वसाधारणलाई ठक्कर दिएर भाग्ने क्रम बढेको छ । जसका कारण दुर्घटनाबाट मृत्यु वा घाइते भएका परिवारले क्षतिपूर्ति समेत नपाउने गरेको गुनासो बढ्दै गएको छ ।

केही महिनाअघि पोखरामा भारतीय नम्बर प्लेटको सवारी साधनले तीन वटा बाइकलाई ठक्कर दिएर भाग्यो । यस्तै, कैलाली र कञ्चनपुरमा समेत भारतीय नम्बर प्लेटको गाडीले सर्वसाधारणलाई ठक्कर दियो भने प्रहरीले पक्राउ गर्न सकेन । यो त केही दिन अघि भएका केही दुर्घटनाका उदाहरण हुन् । यस्ता प्रकृतिका दुर्घटनाको शिकार हेटौंडामा समेत हुँदै आएको छ । जहाँ अधिकांश भारतीय गाडी भाग्ने वा गाडी नै छोडेर फरार हुने क्रम बढेको छ भने घाइते वा मृतकका परिवारले त्यसबापतको क्षतिपूर्ति नपाउँदा उपचार खर्च जुटाउन नै समस्या हुने गरेको छ ।

भारतबाट नेपाल भित्रिएका अधिकांश गाडीको बिमा नहुने र त्यसरी गाडी छोडेर भागेपछि भारतमा नक्कली कागजात बनाएर नयाँ गाडी निकाल्ने हुँदा दुर्घटना पछि भाग्ने क्रम बढेको छ । नेपालका सवारी भारत प्रवेश गर्नु परेमा भारतमा मान्यता प्राप्त बीमा कम्पनीसँग असीमित बिमा (अनलिमिटेड बिमा) गरेपछि मात्रै भारततर्फ जान दिइन्छ । तर, भारतका सवारी साधानले नेपाल प्रबेश गर्दा कुनै पनि बिमा वा तेश्रो पक्षीय बिमा अथवा क्षतिपूर्ति दायित्व नगरिकनै १ देखि ३ दिन सम्मको प्रवेश अनुमति लिँदै आएका छन् ।

यता, प्रहरीका अनुसार यस्तो अवस्थामा पीडितलाई क्षतिपूर्ति दिलाउन समस्या हुँदै आएको छ । क्षतिपूर्तिका लागि सवारी साधन लिलामी नै गर्नुपर्ने बाध्यता समेत देखिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहको भनाइ छ ।

सरकारले भारतीय नम्बर प्लेटका गाडीलाई जाँचमा कडाई र नियम खुकुलो गर्दा यस किसिमको समस्या उत्पन्न भएको पीडितको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV