१६ श्रावण २०७६, बिहीबार
  • रिया भण्डारी

काठमाडौं । चितवन मेडिकल कलेजको कर्तुतहरु एक पछि अर्को गर्दै पर्दाफास हुन थालेका छन् । विद्यार्थीहरु सडकमा आउँदै गर्दा यस्का पूर्व शेयरधनीहरुले पनि मेडिकल कलेजसंगको आफ्नो गुनासो सार्वजनिक गरेका छन् । यता मेडिकल काउन्सिललाई पनि अब भने चितवन मेडिकल कलेजको बढ्दो विवादप्रति चासो बढ्न थालेको छ ।

विभिन्न माग राखेर सडकमा नै उत्रिएका चितवन मेडिकल कलेजका बिद्यार्थीले कलेजले गैरकानुनीरुपमा रकम असुलेको गुनासो सम्बन्धित निकायबाट सुनुवाई नभएको बताएका छन् । तर यता मेडिकल काउन्सिलले भने कलेजले बिद्यार्थीलाई दुःख दिए कारबाही गरिने बताएको छ ।

डाक्टर बन्ने सपना सजाएर चितवन मेडिकल कलेज पुगेका बिद्यार्थीहरुलाई यत्तिबेला कलेजले चरम मानसिक तनाब दिएको छ । सरकारले टोकेको ४२ लाख ५० हजार शुल्कमा अतिरिक्त शुल्क भन्दै जसरी हुन्छ ठग्नै खोज्छ चितवन मेडिकल कलेज । एउटै ब्याचका विद्यार्थीबाट १३ लाख ८२ हजार रुपैयाँसम्म घटीबढी शुल्क उठाउने गरेको पाइएको छ । पुस्तकालय, विश्वविद्यालय दर्ता, सम्बन्धन, परीक्षा, इन्टनसिप, शिक्षा सेवा करलगायत ८ शीर्षकमा कलेजले विद्यार्थीबाट शुल्क लिने गरेको छ त्यसै कारण बिद्यार्थीहरु कहिले सरकारी निकायको ढोका ढकढकाउन पुग्छन् त कहिले बाध्य भएर सडक मै उत्रिन्छन् तर पनि सबै मौन छन् ।

मेडिकल काउन्सिल भने शुल्क बढी लिएको कलेजलाई कारबाही गर्ने निकाय काउन्सिल नभएको बताउछ तर बिद्यार्थीलाई अरु कुनै पनि दुःख दिएको भए विद्यार्थीले उजुरी दिएको खण्डमा कलेजलाई कारबाही गर्ने काउन्सिलका उपाध्यायक्ष डा नारायण बिक्रम थापाले बताउनुभएको छ ।

त्यसो त विगत ५ वर्ष यता वर्षैपिच्छे चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलनमै उत्रिन्छन् ।

चितवन मेडिकल कलेज स्थापना कालमा हरिभक्त शर्मा र डा जागेश्वर गौतमको मुख्य शेयर थियो तर यी दुइ व्यक्ति नै अहिले छैनन् । हरिभक्त शर्माले शेयर बेचेका थिए । तर डा जागेश्वर गौतमले भने कलेजबाट बाहिरिदा कुनै पनि रकम नलिएको बताउछन् । मेडिकल कलेजमा बिद्यार्थीको गुनासो बढ्नु, कलेजहरु ब्यापारमुखी हुनु र सरकारले पनि शुल्क तोक्दा ध्यान नदिनु मुख्य कारण रहेको डा गौतमको भनाइ छ ।

के छन् विद्यार्थीका मागहरु ?

  1. एमबीबीएसको शुल्क आइओएमले तोकेको ४२,५००।– रुपैयाँ मात्र लिनु पर्नेमा १२,००,०००।– रुपैयाँ लिएको बढी लिएको ७२,००,०००।– फिर्ता गर्नु पर्ने
  2. बीडीएसको हकमा आइओएमले तोकेको शुल्क रु १९,३२।६१२।– मात्र लिनु पर्नेमा रु २४,००,०००।– देखि रु २८,००,०००।– सम्म लिएको , बढी लिएको रकम फिर्ता गर्नु पर्ने
  3. एमबीबीएस, बीडीएस, बीएन, बीएमएलटी, बीएमआईटी लगायत सबै प्रथम बर्षका विधार्थीबाट परीक्षा शुल्कको नाममा मनोमानी १५,०००।– रुपैयाँदेखि ५०,०००।– रुपैयाँ सम्म लिने निर्णय तत्काल फिर्ता लिनु पर्ने र शुल्क नतिर्न विद्यार्थी र अभिभावक एक जुट हुने ।
  4. प्रथम बर्ष अन्र्तगतका सबै संकायका दोस्रो किस्ताको रकम आइओएमले दोस्रो बर्षको अन्तमा तिर्न भनिएकोमा कलेज प्रशासनले अनेक दबाब दिएर पहिलो बर्षमा नै बुझाउन भनिएकोमा सोको विषयमा पनि आइओएमको नियम लागू हुनु पर्ने ।
  5. सबै संकायको शुल्क आइओएमले निर्धारण गरेको अनुसार हुनु पर्ने ।

११ वर्षअगाडि ५ अर्ब लगानीमा ४४ जना शेयर होल्डर भएको मेडिकल कलेजका मालिक अहिले एकलौटी रुपमामा हरिश चन्द्र न्यौपाने बनेका छन् । जब की कलेज स्थापना हँदा न्यौपानेको शेयर ५ लाख मात्र थियो । यत्ति छोटो समयमा बार्षिक अर्बौ रुपैयाँ ट्रान्जेक्सन गर्ने न्यौपानेको आर्थिक स्तर कसरी बढ्यो त्यो शंकास्पद नै छ ।

बिद्यार्थीलाई कमाउने भाँडो बनाउने मेडिकल शिक्षाका माफियाहरुलाई सरकारले कानुनी कठघरामा उभ्याउनै पर्छ भन्ने माग पनि सर्वत्र उठन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV