१६ श्रावण २०७६, बिहीबार
  • दीपक उपाध्याय

धनगढी । उपमहानगरपालिका वडा नम्बर १२ मा राहतको विषयलाई लिएर पीडितहरु आक्रोशित भएका छन् ।

राहत वितरणमा अनियमितता भएको भन्दै आन्दोलनमा उत्रेका पीडितहरुको माग सम्बोधन नभएकोमा उनीहरु आक्रोसित बनेका हुन् । वडाबाट हावाहुरी पीडितको तथ्याङ्क संकलनमै त्रुटी हुनुका साथै वडा सदस्यहरुले समेत अनियमितता गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका छन् ।

file photo

वडा सदस्यद्वय बिर्ख सिहं र गिता सुनारले आफ्नै परिवारका सदस्यहरुका नाममा राहत बुझेपछि राहत नपाएका पीडितहरु आन्दोलनमा उत्रेका हुन् । सदस्य सिहंले आफ्नै परिवारका २ जनाको र गीता सुनारले ६ जनाको राहत बुझेका छन् । वडा अध्यक्ष तथा सदस्यहरुले पहुँचका भरमा पक्की घर भएकाहरुलाई समेत राहतका लागि सिफारिस गरेको भन्दै पीडितहरु आन्दोलनमा उत्रेका हुन् । पिडित भन्दा पनि पहुँचका भरमा राहत वितरण भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको पिडितहरुले बताएका छन् ।

स्थानीय तहबाट पीडित भन्दा पनि पहुँचमा राहत वितरण भएपछि राहत उपलब्ध गराउन माग राख्दा उल्टै आक्रमण भएको पीडितहरूकाे दुखेसो पोखेका छन । वडा अध्यक्ष गणेस जोशीका छोरा नवराज जोशीको योजनामा सो आक्रमण भएको स्थानियको आरोप छ ।

आन्दोलनको नेतृत्व गरिरहेका हावाहुरी पीडित संघर्ष समितिका संयोजक श्याम कुँवरले जनप्रतिनिधिबाटै भएको गल्तीलाई सच्याएर वास्तविक पीडितलाई राहत उपलब्ध गराउन माग राखिरहेका बेला आक्रमण हुनु तानाशाही प्रवृत्ति रहेकाे बताए ।

कुनै भागबण्डा नमागी सरकारबाट उपलब्ध हुने राहत पीडितले पाउनुपर्छ भनेर माग राखे पनि महिलाहरुमाथि आक्रमण भएको उनले बताए । पहुँचका भरमा भन्दा यकिन पिडित पत्ता लगाएर सबै पिडितले राहत नपाउँदा सम्म आन्दोलन नरोकिने समेत उनकाे भनाइ छ ।

धनगढीका मेयर नृपबहादुर वडले शुरुमा प्रदेश र स्थानीय सरकारले पूरै छानो भत्केकालाई पुर्ण र आधा भत्केकालाई आंशिक भनेर तथ्यांक संकलन गरेकाे भए पनि एकद्वार प्रणालीबाट राहत वितरण हुँदा फरक भएको बताए ।

जिल्ला बिपद् व्यवस्थापनबाट राहत उपलब्ध हुँदा पुर्ण घर भत्केकालाई पुर्ण र पुर्ण छाना भत्केकालाई आंशिक क्षति बनाएर राहत उपलब्ध हुँदा यो समस्या आएको मेयर वडकाे भनाइ छ । उनले राहत पाउनै पर्ने व्यक्ति छुटेको भएमा जुनसुकै हालतमा पनि उप-महानगरले राहत उपलब्ध गराउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV