१६ श्रावण २०७६, बिहीबार

काठमाडौं, १६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन् । उनले आफूले गरेका गलत कामको बारेमा जनस्तरबाटै विरोध भएपछि सरकार जनतासँग झुक्ने परिस्थिति बनेको बताए ।

बिहीबार एक साक्षात्कारमा बोल्दै डा महतले सरकारले सुरु–सुरुमा राष्ट्रियताको बारेमा ठूलठूला कुरा गर्ने गरेको र सत्तामा पुगेपछि लम्पसार पर्ने गरेको पनि आरोप लगाए । उनले भने, ‘सुरुमा ओली सरकारले राष्ट्रियताको बारेमा ठूलो कुरा गर्यो, उहाँहरुले हाम्रै काँधमा राष्ट्रियता अडेकोजस्तो गर्नुभयो । तर, अहिले लम्पसार हुनुभयो । उहाँहरुको राष्ट्रियताको चर्को नारा भनेको त सत्तामा जाने भर्याङमात्रै हो ।’

सरकारले सुशासन, रोजगारी, समृद्धिलगायतका फाेस्रा कुरा गरेको भन्दै उनले कांग्रेसले अर्को निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरी जित्ने ठाेकुवा गरे । उनले भने, ‘हामी अब जनताको पीर, मर्कालाई आत्मसात् गर्दै अघि बढ्छौं ।’

वर्तमान सरकार नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्धमा मात्रै नभएर पूरै विदेश सम्बन्धमा असफल भएको महतको आरोप छ । ‘सरकारले जनतातिर फर्केर राष्ट्रियताको कुरा गर्छ, तर जुन देशसँग आफ्नो कुरा राख्नुपर्ने हो त्यो देशसँग कुरै गर्न सक्दैन् । लम्पसार परेको छ । त्यसैले यो सरकार विदेश नीतिमा पुरै असफल भएको छ ।’ उनकाे कथन छ ।

सर्लाहीमा गैरन्यायिक हत्या भएकोले त्यसको सत्य, तथ्य पत्ता लगाउनको लागि संसदीय समिति बनाउनुपर्ने कांग्रेसले माग गरिरहेको पनि उनले जिकिर गरे । उनले भने, ‘हामी मुलुकमा हत्या, हिंसा दोहोर्याउन दिँदैनौं । माओवादीलाई गिरिजाप्रसाद कोइरालाले वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा ल्याउनुभयो ।’ साथै उनले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई हिंसाको बाटो त्याग्न समेत आग्रह गरे ।

महतले सरकार पनि ‘एक्स्ट्रा–जुडिसियल’ बाटोमा जान नहुने तर्क गरे । उनले थपे, ‘सरकारले पनि वार्ताको ढोका खोल्नुपर्छ । कानुनको परिधिभित्र रहेर आफ्नो भूमिका खेल्नुपर्छ । विप्लवसँग सरकारले वार्ता गर्नुपर्छ । हामी वार्ताको पक्षमा छौं । तर, विप्लवले पनि हिंसाको बाटो बन्द गर्नुपर्छ । हामी हिंसाको खिलाफमा छौं ।’

पूर्णरुपमा महाधिवेशनमा केन्द्रित

उनले पार्टीको जारी केन्द्रिय कार्यसमिति बैठकमा नेताहरुबीच जुहारी नचलेको बरु सकारात्मक छलफल जारी रहेको स्पष्ट पारे । उनले भने, ‘महाधिवेशनको सन्दर्भमा हामी छलफलमा जुटेका छौं । महासमितिको बैठकले नयाँ विधान बनायो । अब नयाँ नियामावलीको टुँगो लगाउँछौं ।’ पार्टी यतिवेला पूर्ण रुपमा महाधिवेशन केन्द्रित रहेर संगठन विस्तारको काममा जुटेको पनि उनले विश्वास दिलाए ।

यद्धपि उनले पार्टीभित्रबाट भोलि नै महाधिवेशन गर्नुपर्यो लौ चाहियो भनेर कसैले पनि नभनेको जिकिर गरे । उनले केन्द्रिय कार्य समितिले बैठकले छिटोभन्दा छिटो अन्तरिम संरचना टुँगो लगाउने स्पष्ट पारे । अन्तरिम संरचनाले क्रियाशिल सदस्यता वितरण गर्छ । क्रियाशिल सदस्यताको टुँगो लागेपछि प्रारम्भिक मतदाताको सुची तयार भएपछि मात्रै महाधिवेशनको मिति, कार्यतालिका तय हुने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV