१६ श्रावण २०७६, बिहीबार

काठमाडाैं । नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले असफल भएको महसुस हुनासाथ जिम्मेवारी त्याग्ने घोषणा गर्नुभएको छ ।

आज बिहान तत्कालीन नेकपा एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भट्टराईले आफूले महसुस गरेको वा प्रधानमन्त्रीले असफलताको संकेत गरेकै दिन मन्त्री पद त्याग्ने घोषणा गर्नुभएको हो ।

नेपाललाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको भन्दै उहाँले प्रधानमन्त्रीसँग आफूले गर्ने ‘करार’ पनि त्यही हुने बताउनु भयो ।

केही दिनभित्रै आफूले गर्ने कामसहितको प्रतिबद्धता पत्र र मन्त्रालयका विवादास्पद विषय सार्वजनिक गर्ने जनाउनु भएका मन्त्री भट्टराईले चुनौती सामना गर्ने दृढताका साथ नै जिम्मेवारी लिएको दोहोर्याउनुभयो ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी गौतमबुद्ध र पोखरा विमानस्थलको कामलाई तीव्रता दिँदै सहमति जुटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्योल पनि अन्त्य गर्ने उहाँको भनाइ थियो ।

बल्खुपछि मन्त्री भट्टराईले तत्कालीन माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेर सहिद तथा बेपत्ता परिवारको स्मरणमा बनाइएको स्तम्भमा माल्यार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV