१५ श्रावण २०७६, बुधबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको छ । असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा मिनेन्द्र रिजाल, धनराज गुरुङ, शंकर भण्डारीले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत परियोजना निर्माण गर्दा डुवानमा पर्ने गोरखा र धादिङ जिल्लाका धेरै गाउँपालिकाहरुको जग्गा जमिनको मुआब्जा वितरण भैसकेको तर सोही दुवै जिल्लाका आरुघाटबजार, खहरेबजार र आरखेत बजार क्षेत्रको घर जग्गाको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य संघीय सरकारको ठाडो आदेशद्वारा एका एक रोक्का गरिएको प्रति ध्यानाकर्ष भएको जनाएको छ ।

सो परियोजनाको डुबान क्षेत्रमा पर्ने उक्त बजारहरुको घरजग्गा ४÷५ वर्षदेखि बिक्री, नामसारी गर्न नपाउने गरी जिल्ला मालपोत कार्यालयबाट रोक्का गरिएकोबाट सो क्षेत्रका बासिन्दा, व्यापारी, उद्योगपति एवं नागरिकहरुलाई साहै्र मर्का परिरहेको सन्दर्भलाई ध्यानमा राखी सो बजार क्षेत्रहरुमा रहेको घर–जग्गाको उचित मूल्याङ्कन गरी मुआब्जा अविलम्व वितरण गर्न आजको यस बैठकले माग गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठक २०७६ श्रावण १७ गते शुक्रबार दिनको १ बजे पुनः बस्नेछ आज बसेका बैठकले निर्णय गरेका बिज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV