१५ श्रावण २०७६, बुधबार

काठमाडाैँ । अर्थमन्त्रालयले शेयर बजारमा देखिएको पूँजीगत लाभकरको विवाद टुङ्ग्याएपछि बुधबार शेयर बजारमा परिसूचक नेप्से बढेको छ । करिब १ बजे सम्म स्थिर रहेको बजारमा लगानीकर्ता र सरकारबीच सहमति भएपछि नेप्से बढेको थियो ।

बुधबार शेयर बजारमा परिसूचक नेप्से ६ अंक बढीले वृद्धि भई १ हजार २ सय ६५ दशमलव ५७ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि बढेको छ । कारोबार सुरुभएदेखि २ घण्टा सम्म स्थिर रहेको बजार लगानीकर्ता र सरकारबीच लाभकर गणना गर्दा शेयरको आधारदर तय गर्ने विषयमा सहमती भएपछि नेप्सेले गति लिएको थियो ।

सरकार र लगानीकर्ताबीच २०५८ सालदेखि २०७६ साल हसार भित्र सबैभन्दा अधिकतम र सबैभन्दा न्युनतम मूल्यको आधारमा औसत मूल्य निर्धारण गर्ने सहमति भएको छ । सहमति पछि बजारमा कारोबार पनि केही बढेको थियो । १ सय ६९ कम्पनीको ३७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका समुह मध्ये विकास बैंक समुहको बाहेक सबै समुहका सूचकहरु बढेका छन् । नेपाल बैंक, कृषि विकास बैंक, प्रभु बैंक लगायतका बैंकको शेयर कारोबार उच्च छ । परिसूचक बढेपनि युनियन हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । यो कम्पनीको १ सय रुपैयाँ बराबरको शेयरको कारोबार ७० रुपैयाँमा भएको छ । सिभिल लघुवित्त तथा लक्ष्मि लघुवित्त लगायतका कम्पनीहले १० प्रतिशतले कमाएका छन् । धेरैजसो लघुवित्त कम्पनीका शेयरधनीले ९ प्रतिशत बढीले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV