१५ श्रावण २०७६, बुधबार
  • तारा आचार्य

विराटनगर, १५ साउन । विराटनगर स्थित नोबेल मेडिकल कलेजमा छुट्टै एउटा प्रहरी कार्यालय नै खोल्नु पर्ने अवस्था आएको छ । महिनामा उपचारार्थ आएका चार जना सम्म विरामीको मृत्यु हुन थालेपछि आफन्तहरुले लापरवाही गरेको भन्दै आन्दोलन गर्न थालेपछि प्रहरी कार्यालय नै खोल्नु पर्ने अवस्था आएको हो ।

पछिल्लो पटक सामान्य रुपमा सुत्केरी भएकी सुनसरी झुम्काकी पार्वती कार्कीको बुधवार बिहान मृत्यु भएपछि आफन्तहरुले शव बुझ्न अस्विकार गरेका छन् । मंगलबार बिहान छोरी जन्माएकी कार्कीको अत्यधिक रक्तश्राव भएपछि मृत्यु भएको अस्पतालले जनाएको छ । मंगलबार बिहान छोरी जन्माए लगत्तै अत्यधिक रक्तश्राव भएपछि डा. शान्ति सुवेदी, डा. मन्जुल यादव लगायतको डाक्टरको टिमले शल्यक्रिया गरेर उनको पाठेघर नै फालेको थियो ।

डाक्टरको लापरवाहीका कारण आफ्नो विरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न अस्विकार गर्दै आएका छन् । पार्वती कार्कीको मृत्यु हुनु अघि नोबेल मेडिकल कलेजमा १० दिन अघि पनि घुँडाको शल्यक्रिया गराउन आएका दुहबीका एक जना विरामीको मृत्यु हुँदा आफन्तहरुले कोशी राजमार्गको दुहबी खण्ड नै बन्द गराएका थिए ।

त्यस अघि विराटनगर कै डाक्टर विमल अग्रवालको मृत्यु पनि चिकित्सकको लापरवाहीले भएको भन्दै आफन्तहरुले अस्पतालमा तोडफोड समेत गरेका थिए ।

जनतालाई सुलभ र यथोचित स्वास्थ्य सेवा दिने संस्थाहरुले जिम्मेवारपूर्ण व्यवहार नगरेको र गुणस्तरीय सेवा दिन नसकेका कारण सर्वसाधारणको मृत्यु हुन थालेपछि शान्ति सुरक्षामा चुनौती थपिएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताउनु भयो ।

उपभोक्ता हित संरक्षण ऐन २०५४ मा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा क्षतिपूर्ति समिति रहने व्यवस्था हुदै आएकोमा उपभोक्ता हित संरक्षण ऐन २०७५ मा त्यो व्यवस्था हटाइएकाले यस्ता घटनामा छानबिन गर्न अप्ठ्यारो रहेको बताइएको छ ।

अस्पतालको लापरवाहीका कारण हुने मृत्युका घटनालाई न्यून गर्न सम्बन्धित निकाय मेडिकल काउन्सिलले पनि मुलुकी फौजदारी अपराध संहिता अनुसार छानबिन अगाडि बढाउन आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV