१५ श्रावण २०७६, बुधबार
  • राजन परियार

सिन्धुली १५, साउन । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ दोभानकी ४८ वर्षीया रानिमायाँ मोक्तानको मृत्य भएको छ ।

घरमा एक्लै बस्दै आएकी मोक्तान बुधबार बिहान अबरेरसम्म नउठेपछि स्थानीयले खोजतलास गर्दा घरभित्रै मृत अवस्थामा भेटिएको भएतापनि उनको मंगलवार राति नै हत्या भएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले जानकारी दिएका छन् ।

मृतक मोक्तानको घाँटीमा छोटो डोरीले कसिएको, उनले लगाएको सबैै गरगहना पनि लुटिएको, जिउमा चोट र लगाएको सबै लुगासमेत च्यातिएको कारण मोक्तनको हत्या भएको अध्यक्ष लामाले बताएका छन् । उनले भने, ‘घटनाको प्रकृति हेर्दा हत्या गरिएको प्रस्ट हुन्छ मृतक मोक्तानले मृत्यु अघि धेरै प्रतिबाद गरेको जस्तो देखिन्छ । यो हत्यानै भएको हा’ ।

घटना शंकास्पद देखिएको छ र घटना स्थलमा प्रहरी टोली पुगेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय कपिलाकोटको टोली पठाइएको सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले वताउनु भयो । सिंहले भन्नुभयो–‘मृतकको घाँटीमा लगाएको डोरी छोटो छ, शव उनी सुत्ने गरेको ठाउँमा छ । झुण्डीएर आत्महत्या गरेको भन्ने कुनै आधार छैन्’ ।

मृतक मोक्तान एकल महिला हुन उनका श्रीमान ठाडा बहादुर मोक्तानको १५ वर्ष अघिनै मृत्यु भईसकेको थियो भने उनका दुई छोराहरु रोजगारका लागि काठमाण्डौं बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV