१४ श्रावण २०७६, मंगलवार

काठमाडाैँ । खाडीका मुलुकमा नेपाली कामदारको मृत्यु हुनुको मुख्य कारण रहेकाे छ– ‘कार्डिक एरेस्ट’ । तथ्यांकअनुसार नेपालीमा वर्षौंदेखि यो समस्या उच्च छ । दिनभर बाहिरको गर्मीमा काम गरेर आउने र कोठामा आउनासाथ ‘एयर कन्डिसनर’ खोलेर सुत्ने गरेका कारण धेरै नेपाली ‘कार्डिक एरेष्ट’को शिकार हुन्छन् ।

कडा परिश्रमले ल्याउने स्वास्थ्य जोखिम त छदैछ, स्वास्थ्य चेतना पनि न्यून हुन्छ अधिकांश कामदारमा । वातावरण, जीवनशैली र कडा परिश्रमले रोगले छिटो समात्छ । र, त्यसमा हेलचेक्र्याईको पनि मात्रा बढ्दै जाँदा कतिपयले ज्यान पनि गुमाउँछन् ।

असन्तुलित खानपान तथा दैनिकी एवं मानसिक तनावका कारण नेपालीहरु विदेशमा हृदयघातको शिकार हुन्छन् । खर्च बचाउन पोषिलो खानेकुरा नखाने, तर कडा परिश्रम गर्ने अधिक गर्मीमा त्यो पनि कमसल गुणस्तरको मदिरा पिउने प्रबृत्ति पनि मृत्युको कारण हो ।

विशेषतः खाडी मुलुकमा रहेका नेपाली कामदार विरामी हुँदा पनि हत्तपत्ती औषधि खाँदैनन् । किनकी विरामी रहेको थाहा भए कम्पनीले कामबाट निकाल्ने जोखिम हुन्छ । रोग लुकाउने प्रबृत्तिले पनि केहीले ज्यान गुमाउँछन् ।

ट्राफिक नियमबारे जान्न र त्यसको पालना गर्न खासै चासो नदिने नेपाली आनीबानीले पनि धेरै नेपालीले सडक दुर्घटनामा परी मृत्यु अंगाल्नु परेको छ । कार्यस्थलमा हुने दुर्घटनामा परेर मृत्यु हुनेहरुको संख्या पनि सानो छैन । यस्तो दुर्घटनामा बढीजसो निर्माण र औद्योगिक क्षेत्रका मजदुर पर्ने गरेको बैदेशिक रोजगार बोर्डले जनाएको छ ।

जोखमयुक्त काम

कार्यस्थलमा सुरक्षा नअपनाउने र बढी जोखमयुक्त काममा नेपाली कामदारलाई लगाइने कारण कार्यस्थलमा हुने दुर्घटनाबाट अंगभंग हुने नेपालीको संख्या पनि ठूलो छ ।

रोजगारीमा गएका नेपाली अपराधको शिकार पनि बन्ने गरेका छन् । लुटपाटमा संलग्न हुने समूहबाट तथा व्यक्तिगत रिसइवीमा पनि हत्याका घटना हुने गरेका छन् । नेपाली–नेपाली तथा अन्य देशका कामदारसँग झगडा गरेर पनि धेरै नेपालीले ज्यान गुमाएका छन् ।

त्यसैगरी मृत्युदण्ड, प्राकृतिक प्रकोप लगायतका कारण पनि कामदारको ज्यान जाने गरेको छ । कतिपयको मृत्यु भने कालगतिले पनि हुन्छ । आत्महत्या गरेर विदेशमा मृत्यु रोज्ने नेपालीको संख्या पनि थोरै छैन ।

हेर्नुस् भिडियाे-

प्रतिक्रिया दिनुहोस्
LIVE TV