१४ श्रावण २०७६, मंगलवार

काठमाडाैँ । आज श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यका लगायत नेवार समुदाय भएका विभिन्न जिल्लामा गठेमंगल पर्व मनाइएको छ । परापूर्व कालदेखि भूत भगाउने उद्धेश्यले मनाउँदै आएको यो पर्व नेवार समुदायमा अन्य पर्वको सुरुवातको रुपमा पनि हेरिन्छ ।

श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमंगल पर्व काठमाडौं उपत्यका लगायत नेवारी समुदाय भएका विभिन्न जिल्लामा मनाइन्छ । भूतकोे प्रतिकका रुपमा चौबाटोमा नरकट ठड्याई सिंगारिएको मानिसलाई टोल टोलमा जगात माग्न लगाएर मनाउने प्रचलन पनि छ । यसका साथै ढोकाको चौकोस वा दैलामा फलामको त्रिखुट्टे ठोक्ने चलन पनि रहिआइको छ ।

महादेवको भक्त मानिने घण्टाकर्णले उनको स्तुति गाउदै बालबालिका चोरेर लैजान थालेपछि महादेवले घण्टाकर्णलाई कानमा घण्टा झुण्ड्याई धर्तीका आउन अनुमतिदिएको भन्ने कथनमा आधारित भएर यो पर्व मनाउने गरिएको हो । यस पर्वमा विहान घर आगन सफा गरी , स्नान ध्यान तथा कुमार कार्तिकेयको पूजा गर्ने गरिन्छ । यस दिनमा धातुको औठी र वाला लगाउनाले भूत प्रेतले नछुने र घरको समेत रक्षा हुने जनविश्वास रहिआएको छ ।

जानकारहरुका अनुसार चौधौ शताव्दीदेखि मनाइदै आइरहेको यस पर्वमा गठेमंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झ्mना स्वरुप हरियो नरकट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरुप बनाई दोबाटो र चौबाटोमा उभ्याउने चलन पनि छ ।

गोपाल वंशावली अनुसार गठेमंगललाई भैरवको प्रतिमाका रुपमा मानेर नव विवाहित नारी पुरुषले दर्शन गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV