१४ श्रावण २०७६, मंगलवार

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सन् २०२० सम्ममा अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्न सुरु गर्ने अमेरिकाको योजना रहेको बताएका छन् ।

सो कदम लामो समयदेखिको द्वन्द्वबाट अमेरिकालाई अलग गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको प्रतिबद्धताको स्पष्ट सङ्केत भएको जनाइएको छ । वाशिङ्टनमा बोल्दै विदेशमन्त्री पोम्पेओले राष्ट्रपतीय निर्वाचनअघि सैनिक फिर्ता गर्न सुरु गर्ने योजना खुलाएका हुन् ।

उनले राष्ट्रपतिबाट आफूले आउँदो वर्षको नोभेम्बर महिनामा हुने निर्वाचनसम्ममा उक्त क्षेत्रमा अमेरिकी सैनिकको सङ्ख्या घटाउने निर्देशन पाएको जानकारी दिएका छन् । पोम्पेओले राष्ट्रपति ट्रम्पको निर्देशन अन्त्यहीन युद्धको समाप्तिबारे स्पष्ट रहेको बताए ।

अफगानिस्तानमा अमेरिकी उपस्थिति घटाउने राष्ट्रपतिको प्रतिबद्धताले अहिले जारी सघन शान्तिवार्तालाई बल दिने ठानिएको छ । अमेरिका र तालिबान दुवै पक्षका वार्ताकारहरूले आफूहरूबीचको संवाद सहमतिको नजिक पुगेको बताएका छन् । जसले अमेरिकाको बहिर्गमनको बाटो खुला गर्न सक्ने अनुमान छ ।

LIVE TV