१२ श्रावण २०७६, आईतवार

भक्तपुर । नजिकिँदै गरको गथे मंगल पर्वका विषयमा भक्तपुरमा आज संस्कृतिविद् र पत्रकारहरुबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुर शाखाले सूर्यविनायक स्थित रफत सञ्चार क्लबमा गरेको अन्तरक्रियामा भक्तपुर र थिमिमा गथे मंगल पर्व कसरी मनाइन्छ भन्ने विषयमा इतिहासविद्हरुसँग छलफल गरिएको हो ।

कार्यक्रमा डा पुरुषोत्तमलोचन श्रेष्ठले हरेक जात्रा प्रवृतिमा भर पर्ने भएको र गथे मंगललाई जसरी राक्षसको उपमा दिने गरिएको छ, त्यो गलत ब्याख्य रहेको भन्दै यो पनि भगवानको एक रुप भएको बताए । उनले भने, ‘यो जात्रालाई किसान परिवारसँग जोडिएको पर्वका रुपमा समेत ब्याख्या गर्न सकिन्छ ।’ पर्वका समयमा बोलीने भाषामा अश्लीलताको प्रयोग हुने बिषय हरेक क्षेत्रबाट अध्ययन र अनुसन्धान गर्दा सकारात्मकै देखिएको उनले बताए ।

‘गथे मंगल र घन्टाकर्णका बिषयम जसरी पछिल्लो समयमा फरक-फरक हुन् भनी ब्याख्या गर्ने काम गरिएको छ त्यो गलत हाे,’ श्रेष्ठले भने, ‘यी दुवैको नाम एकै हो भन्ने गुठी जग्गासँग मात्र सम्बन्धित नभएर हरेक संस्कार पर्व र समाजसँग जोडिएर आउने यो गथे मंगल पर्वले समेत प्रष्ट पार्छ ।’

कार्यक्रममा मध्यपुर थिमिका संस्कृति अध्ययनकर्ता राजेन्द्र तु श्रेष्ठले थिमिमा कसरी गथे मंगल मनाईन्छ भन्ने बारे जानकारी दिएका थिए । उनले भने, ‘मध्यपुर थिमि नगरमा जम्मा १२ स्थानमा गथे मंगल मनाउने गरिन्छ । गथे मंगललाई धार्मिक परम्परा अनुरुप मनाउने चलन त छँदै छ, यसलाई सफाई अभियानका रुपमा समेत लिन सकिन्छ ।’

नेवा पत्रकार दबुका केन्द्रिय अध्यक्ष श्रीकृष्ण महर्जनले सञ्चार क्षेत्रले हरेक विज्ञहरुको भनाईलाई मात्र नभइ फरक धारबाट अध्ययन गरी त्यसको प्रस्तुती र जानकारी दिन सक्नु पर्नेमा जोड दिए । गथे मंगल पर्वको आफ्नो छुट्टै मान्यता रहको र यसबारे अझ थप अध्ययन र अनुसन्धान जारी रहेकाले यसको उजागर तर्फ सञ्चार क्षेत्रले थप भूमिका खेल्न सक्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा रफत सञ्चार क्लबका केन्द्रीय अध्यक्ष सुशील बन्धु थापाले सञ्चार क्षेत्रले भक्तपुरका हरेक कला संस्कृति र सम्पदाका बारे बिश्व माझ जानकारी प्रदान गर्न सक्ने भएकाले दबुले आफ्नो क्षेत्रबाट भक्तपुरका जात्रा पर्वका बारे यसरी नै विज्ञहरुसँग छलफल गरी तथ्य बाहिर ल्याउने तर्फ अपेक्षा राखेको बताए ।

भक्तपुर पर्यटन बिकास समितिका अध्यक्ष राम सुन्दर भेलेले भक्तपुरक गथे मंगल जात्राजस्तै हरेक जात्रालाइ जीवन्त राख्न सबै क्षेत्र लागिपरेको र यस्तै जात्रा र पर्वकै कारण भक्तपुर बिश्वमाझ परिचित रहेको बताए ।

कार्यक्रमका सभापति एवं नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुरका अध्यक्ष रामगोपाल तमखुले भक्तपुरमा मनाइने गथे मंगल पर्वका बारे जानकारी दिन र हरेक जात्राहरको संरक्षण र प्रर्वदनमा सरोकारवालाहरुलाई घच्घचाउन यस्ता कार्यक्रम फलदायी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV