१२ श्रावण २०७६, आईतवार

काठमाडौं। समाजवादी पार्टी, नेपाल मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतको आन्दोलनको मात्र नभई दश वर्षे जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी पनि भएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताउनु भएकाे छ । आइतबार काठमाडौंको खुसिबुँमा भएको अन्तक्रिया या कार्यक्रममा साे कुरा बताउनुभएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले तत्कालीन नेकपा (माओवादी)ले जनयुद्धको उतर्राद्धमा उठाएका पहिचानसहितको सङ्घीयता, समानुपातिक समावेशीकरण, वर्गीय मुक्ति, समानता, स्वतन्त्रता तथा सबैखाले विभेद र असमानताको अन्त्य जस्ता युगान्तकारी परिवर्तनका प्रगतिशील मुद्धाहरु नेकपामा विसर्जन गरेको बताउँदै समाजवादी पार्टीले ती सबै मुद्दाहरूलाई नयाँ परिस्थितिमा समय सापेक्ष ढङ्गले उठाएको बताउनुभयाे ।

विचार सफ्टवेयर, सङ्गठन हार्डवेयर

पार्टीका एक विचारक नेताको रूपमा परिचित नेता श्रेष्ठले जनतालाई नेपाली समाज परिवर्तनको मौलिक बाटो समुन्नत सङ्घीय समाजवाद दिएको बताउँदै भन्नुभयाे, ‘समुन्नत सङ्घीय समाजवादले समानुपातिक समावेशीकरण सहितको सङ्घीय राज्य बनाई राष्ट्रिय एकता मजबुत बनाउनुका साथै देशलाई समृद्धि, सुशासन र समाजवादको बाटोमा दोहराउँछ ।’

पार्टी निर्माणमा विचारको महत्त्वबारे उहाँले भन्नुभयाे, ‘विचार सफ्टवेयर हो भने सङ्गठन हार्डवेयर । सही बिचारले सङ्गठनलाई मजबुत बनाउँछ ।’

आफ्नो पार्टीले लोकसेवा आयोगको समानुपातिक समावेशी विरुद्धको असंवैधानिक विज्ञापन, गुठी विधेयक, सम्पदा संरक्षण, मातृभाषामा शिक्षा, गैरन्यायिक सडक विस्तार लगायत सरकारको प्रतिगामी कदम विरुद्ध सडक र सदनमा आवाज बुलन्द गरेको बताउँदै यसको विरुद्ध सबैसँग मिलेर संयुक्त सङ्घर्ष गर्न तयार समेत बताउनुभयाे ।

जबसम्म देशमा दश जोड एकको राष्ट्रिय पहिचानसहितको सङ्घीयता स्थापित हुँदैन तबसम्म वर्तमान एकल जातीय राज्यविरुद्धको सङ्घर्ष जारी रहने पनि उहाँले बताउनुभयाे ।

राजपासँगको एकीकरणबारे सोधिएका जिज्ञासामा श्रेष्ठले वार्ता जारी रहेको तर निष्कर्षमा पुगी नसकेको बताउनुभयाे । उहाँले पत्रपत्रिकामा भएको अतिशयोक्ति प्रचारबारे आश्चर्य प्रकट गर्दै त्यसलाई आफ्नो पार्टीप्रति पत्रकार मित्रहरूको शुभेच्छाको रूपमा आफूले लिएको पनि बताउनुभयाे ।
नेताहरूको देवत्वकरण गरेर समाजवाद आउँछ भन्ने प्रश्नको जवाफमा श्रेष्ठले भन्नुभयाे, ‘आफूहरू नेताहरूलाई ग्रेटम्यान ठान्ने वा देवत्वकरण गर्ने पक्षमा छैन । कतिपयले पारिपट्टिको सिको गरेको हुन सक्छ । नेपालमा त नेपाली काङ्ग्रेस जस्तो पुँजीवादी पार्टीले समेत कार्यक्रम गर्दा दिवंगत नेताहरूको सम्मानका लागि फोटो राख्ने गरे पनि कार्यक्रमको प्रचारका लागि बाहेक जिउँदा नेताहरूको राख्ने चलन छैन ।’


नेता श्रेष्ठले पार्टी भनेको दुई चार जना नेताहरूको जमिन्दारी नभएको बताउँदै समाजवादी संस्कृतिको विकास गर्न सबैभन्दा पहिला नेताहरूको आचरण सुघ्रिनु पर्ने बताउनुभयाे ।

उहाँले नेताहरूको व्यक्ति पुजाको शैलीबाट होइन सामूहिक नेतृत्व प्रणालीको आधारमा पार्टी चलाउनुपर्ने बताउनुभयाे । व्यक्ति पुजाको शैली पुँजीवादी शैली भएको बताउँदै भन्नुभयाे, ‘समाजवादी विचार बोकेका नेताहरूले सिद्धान्त मात्र नभई आफ्नो कार्यशैली पनि समाजवादी बनाउन सक्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV