११ श्रावण २०७६, शनिबार

१.ठेकेदारहरुको शैली: नठगेको ठाउँ छैन, नभागेको गाउँ छैन, तह्रथुमको पुलको पनि भयो विचल्ली

विश्वास कहीं रहने भएन अब । काम गर्नेहरुलाई पनि काम नगर्नेहरुको संख्याले थिच्न थालेपछि निर्माण व्यवसाय क्षेत्र थप बदनाम बन्न थालेको छ । काम गर्नेहरु नभएका होइनन तर काम नगर्ने र जथाभावी काम छोडेर जनता र देशलाई सास्ती दिनेहरुको संख्या देशभर बढ्न थालेपछि ठेकेदारहरु जताततै बदनाम हुन थालेका छन् । को खोरुङ्गा खोलाको पक्की पुलको कथा हो यो ।

पुल निर्माणको जिम्मा लिएको कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिले बिचमा नै काम छाडेर वेपत्ता भएपछि अहिले तेहथुमवासीलाई खोला वारपार गर्न यमराजलाई चुनौती दिनु बराबर भएको छ । बर्षामा बढेको खोरुङ्गा खोलाले तेहथुमवासीलाई सास्ती दिन थालेपछि म्याङलुङ नगरपालिकाका पदाधिकारीहरु चासो देखाएका छन् । तर वेपत्ता बनेको ठेकेदार कम्पनीलाई कारवाही गर्ने कि फर्काएर ल्याएर काम पूरा गराउने भन्नेबारेमा भने ठोस निर्णय लिन भने जरुरी देखिएको छ ।

२. खेलकुदको उर्वर भूमि झापामा खेलकुदको समुचित विकासमा लाग्यो जिल्ला खेलकुद विकास समिति

मुलुकको खेलकुदका लागि यथेष्ट योगदान दिएको झापा खेलकुदका लागि उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी मनग्ये उत्पादन गरिसकेको झापा अझै पनि त्यही लगनमा दौडिरहेको छ ।

झापामा हुने बिभिन्न खेलकुद गतिविधिले झापामा मात्र नभइ राष्ट्रिय स्तरमा नै चर्चा पाउने गरेको छ । अझ जिल्ला खेलकुद विकास समिति झापाले जिल्लाको खेलकुदको समुचित विकासका लागि अगाडि बढाएको व्यवस्थित तथा योजनाबद्ध प्रक्रियाले भोलिका दिनहरुमा झापाको खेलकुदलाई अझ बढी सुनौलो बनाउने निश्चित छ ।

धेरै जिल्लाका जिल्ला खेलकुद विकास समितिहरु प्रभावहीन बन्दा झापा खेलकुद विकास समितिले भने खेलकुदका हरेक गतिविधिलाई प्रभावकारी ढंगले अगाडि बढाउदै आएको छ । खेलकुद अनुशासन मात्र होइन, खेलकुद स्वास्थ्यका लागि मात्र होइन, खेलकुद मुलुकको प्रतिष्ठाका लागि पनि हो भन्ने राम्ररी बुझेको झापाले आगामी दिनमा यही प्रतिष्ठाका लागि धेरै खेलाडी जन्माउने सम्भावना प्रबल बन्दै गएको छ ।

३.एक विद्यालय एक खेल मैदान बनाउने प्रदेश सरकारको योजनालाई ओखलढुंगाले दियो जवाफ

संघीय सरकारले नीति नै बनाएको छ हेरक स्थानीय तहमा खेल मैदान । वास्तवमा यो लक्ष्य पूरा हुने हो भने नेपालमा खेलाडी उत्पादनमा देखिदै आएको खडेरी टर्ने मात्र नभइ अन्तर्राष्ट्रिय खेल जगतमा नेपालले भोग्दै आएको निराशालाई मेटाउन पनि धेरै हदसम्म सहयोग गर्ने सम्भावना प्रबल छ । त्यसमाथि प्रदेश सरकारको एक विद्यालय एक खेल मैदान कार्यक्रम सफल भए नेपालको खेल जगत अझ प्रभावशाली बन्ने निश्चित छ ।

तर विद्यालयमा खेल मैदान कुन हदसम्मको लापरवाहीले निर्माण हुन थालेका छन् भन्ने उदाहरण ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको निशंखेमा देखिएको छ ।

निशंखेको हिमालयन माध्यमिक विद्यालयको हाता भित्र बनाइएको खेल मैदान निर्माण सम्पन्न नहुँदै भत्किएपछि अहिले सर्वत्र प्रश्न उठेको छ । प्रदेश सरकारको ५० लाख लागतमा खेल मैदानको लागि उठाइएको पिल्लर नै बर्षाले चार ठाउँ भाँचेपछि स्थानीय तहले छानविनको काम अगाडि बढाएको छ ।

LIVE TV