१० श्रावण २०७६, शुक्रबार

काठमाडाैँ । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले देश बिगार्नेहरुलाई दण्डित नगर्नाले मुलुकको यो हविगत भएको बताएका छन् ।

राजधानीमा शुक्रबार स्वतन्त्र नागरिक समाजले गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै उनले भने, ‘देश बिगार्नेहरुलाई हामीले कारबाही गर्न सकेको भए देश र जनताले अहिले यसरी दुःख पाउने थिएनन् । हाम्रा चेलीहरुले कंगोलगायतका अफ्रिकी देशमा गएर नाच देखाएर विदेशीहरुलाई मनोरञ्जन दिनुपर्ने थिएन ।’

केसीले राजसंस्थालाई राजाको वरिपरि घुम्ने र विदेशमा अरबाैँको सम्पत्ति लगेर थुपार्नेहरुले नै गर्दा आज राजाको यो हविगत भएको टिप्पणी गरे । त्यस्तै उनले नेपालमा धर्मनिरपेक्षता कसरी आयो भन्ने कुरा तत्कालिन जिम्मेवार पार्टीका जिम्मेवार व्यक्तिहरुले नै थाहा नभएको अभिव्यक्ति दिएको स्मरण गराउँदै भने, ‘अरु त कुरै छोडौं, नेपाली कांग्रेसका तत्कालिन प्रमुख सचेतक लक्ष्मण घिमिरेले धर्मनिरपेक्षता कहाँबाट आयो भन्ने कुरा थाहा नभएको भन्नुभयो ।’

‘प्रधानमन्त्री ओलीलाई अपदस्त गर्नुपर्छ’

सम्मेलनमा अर्का वक्ता प्रेमी कैदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्न नेपाली जनता उठ्नुपर्ने बेला आईसकेको बताए ।

पूर्व महालेखापरीक्षकले नै नेपालमा अहिले तीन खर्ब भ्रष्टाचार रहेको भनेर बोलेकोले अहिलेसम्म भ्रष्टाचारीहरुलाई कारबाही नभएकोमा आक्रोश पोखे । उनले भने, ‘अहिले सरकारले सिंहदरबार बेच्यो, टुँडिखेल बेच्यो, राजदरबार बेच्यो । पार्क बेचिरहेको छ । बालुवाटार बेचेको छ ।’

राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरदचन्द्र दाहालले राजाको पुनर्स्थापना हुनुपर्ने माग गरे । उनले भने, ‘यसको लागि सबैभन्दा राम्रो भनेको र हित हुने भनेको संसदको दुई तिहाईबाट नै संविधान संशोधन गरेर राजसंस्थाको पूनस्र्थापना गर्नुपर्छ । यदि त्यसो नगरेर निषेधको राजनीति गर्ने हो भने असंवैधानिक तरिकाले फालिएको राजतन्त्र हामीले पनि मिशन टु मुभमेन्टको माध्यमबाट राजालाई उहाँसँग भएका अन्तरनिहीत अधिकार प्रयोग गरि स्थापित गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्
LIVE TV