१० श्रावण २०७६, शुक्रबार

काठमाडाैँ । सन्तानले जेष्ठ नागरिक बाबुआमा लाई दिने सेवा सुविधा तथा पालन पोषणको व्यवस्था सम्बन्धमा सांसदहरु बीच मतभेद देखिएको छ ।

बाबु आमालाई छोरा छोरी तथा सरकारका तर्फबाट उपलब्ध गराउने सेवा सुविधा बारे सांसदहरुले फरकफरक धारणा राखेका हुन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बाबु आमा र छोरा छोरीबीचको सम्बन्ध राम्रो बनाउनुको सट्टा बिगार्न सक्ने तर्कहरु समिति सदस्यहरुले गरेपछि यो विषय पेचिलो बन्दै गएको छ ।

आपसी, माया, प्रेम, स्नेह तथा कर्तव्य र जिम्मेवारी बोधको अनुशासनबाट परिवार चल्ने गरेको भन्दै समिति सदस्यहरुले पैसा जम्मा गर्नैपर्ने बाध्यकारी व्यवस्थाले बाबुआमाबाट सन्तानलाई झनै टाढा पुर्याउने सांसदहरुको तर्क छ ।

यता, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सन्तानले बाबुआमाको बैंक खातामा निश्चित रकम जम्मा गर्नुपर्ने प्रावधानले परिवारमा विखण्डन नभई जोड्ने काम गर्ने दाबी गर्नुभयो । छोरा, छोरी वा ज्वाई कसले दायित्व लिनुपर्ने भन्ने किटानीका साथ आउनुपर्ने उल्लेख गर्नुभयो ।

ज्येष्ठ नागरिकको पालन पोषण र हेरचाहका लागि भन्दै कानुनमै बाध्यकारी व्यवस्था गर्न बाबु, आमाको नाममा छोरा छोरीले आफ्नो आम्दानीको निश्चित प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्था संसोधन गरि ऐनमा राख्न गरिएको प्रयास बारे भिन्न भिन्न टिप्पणी हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV