१० श्रावण २०७६, शुक्रबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा ३१ प्रतिशत प्रदूषण मापदण्ड विपरीत सवारीसाधनबाट हुने गरेको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘वातावरण प्रदूषण र मानवअधिकार एक अध्ययन प्रतिवदेन सार्वजनिक तथा वातावरण विधेयक–२०७५’ विषयक अन्तरक्रिया कार्यक्रममा उपत्यकामा सवारीसाधनले अत्यधिक चाप हुनाका साथै मापदण्ड विपरीतका सवारीसाधनले ३१ प्रतिशत प्रदूषण हुने गरेको पाइएको हो ।

प्रतिवेदनको आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले सार्वजनिक गर्दै सवारीसाधनबाट हुने अनियन्त्रित प्रदूषणलाई न्यूनीकरण गर्न कानूनी व्यवस्था र सरकारले मापदण्डसमेत बनाई गरे तापनि वायु प्रदूषण कमी नभई बढ्दै गएको उल्लेख गरिएको छ ।

आयोगले काठमाडौँ उपत्यकासहित, नुवाकोट, रुपन्देही, दाङ, बाँके, कैलाली, बर्दिया, कञ्चनपुर, मोरङ, सुनसरी, इलाम, धनुषा लगायतका १५ जिल्लाको वातावरण प्रदूषण र मानवअधिकारको अवस्थाका बारेमा अध्ययन गरेको थियो ।

प्रतिवेदनमा वायु गुणस्तरसम्बन्धी मापदण्ड २०६९ र नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ ले तोेकेको मापदण्डसमेत उल्लङ्घन गरिएको बताइएको छ ।

यसैगरी यातायात व्यवस्था विभागले उपत्यकामा वायु प्रदूषण न्यूनीकरणका लागि तीन ठाउँमा सवारी यातायात धुवाँ प्रदूषण गर्न परीक्षण केन्द्र स्थापन गरे तापनि एक ठाउँमा मात्र सञ्चालन भएको पाइएको छ ।

उपत्यकामा अहिले करिब आठ लाख ५० हजार मोटरसाइकल र दुई लाख ५० हजार अन्य सवारीसाधन रहेका छन् । प्रतिवेदनमा २० वर्षभन्दा पुराना सवारीसाधन वायु प्रदूषणको मुख्य कारक रहेको आयोगका शाखा अधिकृत किरणकुमार वलामले जानकारी दिनुभयो ।

LIVE TV