८ श्रावण २०७६, बुधबार

काठमाडौँ । निर्माण कम्पनी रमण कन्स्ट्रक्शनको गुणस्तरमा प्रश्न उठ्ने गरेको छ । हुलाकी राजमार्गदेखि धरहरासम्म विवादित बनेको रमणलाई सरकारले भेरी बबई ड्राइभर्सन आयोजनाको ठेक्का दिन लागेको छ । कामै नगर्ने कम्पनीलाई राष्ट्रिय गौरवको आयोजना जिम्मा लगाउँदा जोखिम बढ्ने सरोकारवालाको गुनासो छ ।

देशभर निर्माण कम्पनी रमण कन्स्ट्रक्सनको कामबारे प्रश्न उठिरहेका बेला सरकार भने थप काम दिन तयार भएको छ । हुलाकी राजमार्ग, धरहरा लगायतका क्षेत्रमा विवादित बनेको रमण कन्स्ट्रक्सनलाई नै भेरी बबई डाइभर्सन आयोजनाको बाँकी काम जिम्मा लगाउने तयारीमा सरकार छ ।

जलस्रोत तथा सिंचाई विभाग अन्तर्गतको भेरी–बबई ड्राइभर्सन आयोजनाले हेडवक्र्स, पावरहाउस लगायतका संरचना निर्माणको ठेक्का रमणलाई नै दिने गरी काम अघि बढाएको हो । सडक विभागले कालोसूचीमा राख्ने तयारी गरिरहेका बेला ठूला आयोजना जिम्मा लगाउनु गलत भएको सरोकारवालाहरु बताउँछन् । तर भेरी बबई ड्राइभर्सन आयोजना भने रमणले प्रक्रिया पु¥याएर आएकोले उसैले ठेक्का पाउने दावी गर्छ ।

८ अर्ब लागत अनुमान गरिएको भेरी बबईमा रमण कन्स्ट्रक्सन जेभीले १ अर्ब ८४ करोड कम रकममा टेन्डर हालेको विभागले जनाएको छ । रमणले चीनको ग्वाङ्डोन–युनाटियनसँग मिलेर परियोजनामा टेन्डर हालेको छ । आयोजनाको सुरुङको गत चैतमा नै ‘ब्रेक थ्रु’ भएको थियो । विभागले दोस्रो प्याकेजमा बाँध, विद्यृत गृह, सर्ज टयांक निर्माण गर्ने गरी रमणलाई सम्झौताका लागि बोलाएको छ ।

रमणले हुलाकी राजमार्ग अन्तरगत नारायणी नदीमाथि बनाउनुपर्ने पुल समेत बनाउन सकेको छैन् भने धरहरा निर्माण पनि कछुवा गतिमै छ । सडक विभागले कालोसुचीमा राख्ने तयारी गरिरहेका बेला रमण कन्सट्रक्सन भने सडक विभागलाई नै विपक्षी बनाएर अदालत गएको छ । यो मुद्दा अहिले अदालतमा विचाराधीन छ । हरेक क्षेत्रमा रमणको काम सन्तोषजनक नभइरहेका बेला राष्ट्रिय गौरवको आयोजना जिम्मा लगाउँदा जोखिम बढ्ने आयोजनाका अधिकारी नै बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV