जनप्रतिनिधि र कर्मचारीको मिलेमत्तोमा तिब्बतियनलाई नेपाली नागरिकता !



प्रकाशित मिति : Jul 23, 2019

पोखरा । कास्कीमा नक्कली बाबु–छोरी बनेर तिब्बतियन युवतीले नेपाली नागरिकता लिएकी पाइएको छ । पोखरा महागरपालिका–१८ का लेखबहादुर थापालाई बाबु करार गर्दै तिब्बतियन नागरिक सरु थापा मगरका नाममा २०३९ र तासी आङ्गो थापा मगरका नाममा ०१६३३ नम्बरको नागरिकता जिल्ला प्रशासन कार्यालय कास्कीबाट जेठ २६ गते र असार ६ गते लिएका छन् ।

यो बिषयमा हाम्रो टिमले पहिले बाबु बनेर नागरिकता दिलाएका लेखबहादुर थापालाई भेटेको थियो तर, उनले आफ्नो छोरीहरु भएको झुटो दाबी गरेका थिए । त्यस्तै हामीले नागरिकता दिनका लागि सिफारिस दिने पोखरा महानगरपालिका–१८ का वडा अध्यक्ष रण बहादुर थापालाई पनि भेट्यौ । उनले सबै कागजात हेरेर मात्रै सिफारीस दिएको झुटो दाबी गरे ।

हामीले पटक–पटक खोजी गर्दा पनि नागरिकता लिने युवतीहरुसम्म हामी पुग्न सकेनौं । तर, लेख बहादुरका छोरा विकाश थापा मगरले भनेती युवतीहरु आफ्ना दिदी–बहिनी नभएको स्विकार गरेका छन् । हामीलाई समाचार नहाल्न भन्दै आएका उनले उनीहरु नातामा आफन्त पर्ने तर, दिदीबहिनी नभएको बताएका छन् ।

वडा नम्वर १८ निवासी लेखबहादुरका छिमेकीका अनुसार लेखबहादुरका ३ छोरी र ३ छोरा भएको तर, अहिले नागरिकता निकाल्ने उनका छोरीहरु नभएको बताउछन् । लेखबहादुरका छोरा बिकासका अनुसार यस अघि दुई पटकसम्म झुटो विवरण बनाएर नागरिकता निकाल्ने प्रयास असफल भएको थियो । तर, अहिले वडा अध्यक्षसँग कुरा मिलेपछि नागरिकता बनेको थियो ।

अहिले नागरिकता लिने व्यक्तिहरुले पासर्पोट समेत बनाइसकेका छन् । नेपालबाट तेस्रो मुलुक छिर्न तिब्बतियनहरुले कसैलाई आमा–बुवा बनाई अनि जनप्रतिनिधि र प्रशासनका कर्मचारी मिलाई नागरिकता लिदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com