अपहरणको नाटक गर्ने साह प्रहरीको फन्दामा



प्रकाशित मिति : Jul 18, 2019
  • मनोज कुमार साह,

रौतहट, २ साउन । अपहरणको नाटक गरी भारतमा साधुको भेषमा रहेको अवस्थामा रौतहटका एक व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कटहरिया नगरपालिका ७ बगहीका ३६ वर्षीय श्रीभगवान साहले आर्थिक लेनदेनको बिषयलाई लिएर अपहरणको नाटक गरेको प्रहरीले बताएको छ ।

लेनदेनको बिषयलाई लिएर वेपत्ता भएको साह अपहरणमा परेको आशंका गरेपछि रौतहट प्रहरीले खोजी गरेको थियो । भारतीय प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले साहलाई पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो । कटहरियामा तराई इन्टरप्राइजेज तथा आईएमई सञ्चालन गर्दै आएका साहले काठमाडौंमा बाजुरा इन्टरप्राइजेज समेत छ ।

उनी गत वैशाख १७ गते गरुडामा मोटरसाइकल, मोवाइल, एटिएम तथा नेपाली नागरिकताको प्रमाणपत्र लगायतका सामन लक्ष्मण कोल्ड स्टोरमा राखि बेपता भएका थिए । घटनालगतै साहका आफन्तहरुले कोल्ड स्टोरका संचालक रामकुमार चौधरीविरुद्ध अपहरण गरी हत्या गरेको आशंका गर्दै अपहरण तथा कर्तव्य ज्यान मुद्धा दर्ता गराएका थिए ।

प्रहरीले चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेपनि सत्यतथ्य सार्वजनिक नभएपछि प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान व्युरो तथा प्रदेश प्रहरी कार्यालय सहितको प्रहरी टोलीले अनुसन्धान थालेकोे थियो । प्रहरीले अनुसन्धानको क्रममा तीन दर्जनभन्दा बढीलाई मानिसलाई बोलाएर सोधपुछ गरेपनि साहको अवस्था सार्वजनिक हुन नसकेको हो ।

साहलाई खोज्न प्रहरीको अनुसन्धान टोली भारतीय प्रहरीको सहयोगमा भारतको हरिद्वार तथा मुम्बईसम्म पुगेको थियो । तर प्रहरी टोलीले भैरहवाको सीमा नजिक भारतमै लुकेर बसेको अवस्थामा साधुको भेषमा पक्राउ गरेको हो । गत मंगलवार साधुको भेषमा भारतबाटै पक्राउ परेका साहलाई विहीवार बिहान नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटमा सार्वजनिक गरेको छ ।

आर्थिक कारोबार जटिल बन्दै गएपछि तनावबाट मुक्त हुनका लागि सम्पर्क विहीन भएको बताएका छन् । साहको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक नविन कुमार कार्कीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com