रौतहटका बाढी पीडितलाई प्रदेश सरकारको राहत



प्रकाशित मिति : Jul 18, 2019
  • मनोज कुमार साह,

रौतहट, २ साउन । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले रौतहटका विभिन्न स्थानमा पुगेर बाढी पीडितलाई राहत वितरण गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय गौरमा विहीबार मुख्यमन्त्री राउतले बाढी पीडितलाई खाद्यान्न, त्रिपाल, झुल लगायतका राहत समाग्री वितरण गर्नुभएको हो ।

सो अवसरमा बोल्दै बाढी तथा डुबानको स्थायी समाधान खोज्नुपर्ने र नदीहरुलाई व्यवस्थित बनाउन तटबन्धहरुको व्यवस्थापन तत्काल गर्नु पर्ने बताउनुभएको छ । स्थायी समाधानका लागि केन्द्र सरकारसँग पनि छलफल भएको बताउनुभयो । संघीय सरकारले ठोस नीति बनाएर प्रदेश सरकार र स्थानीय तहको सहभागितामा काम गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

बढीबाट विस्थापितहरुको पुर्नस्थापनाका लागि प्राधिकरण नै गठन गर्नुपर्ने उहाँको भनाइ छ । विपत व्यवस्थापन सम्बन्धी प्राधिकरण गठन गरी बाढीबाट प्रभावित हुने क्षेत्रको नक्साकंनबाट काम गर्नुपर्ने मुख्य मन्त्री राउतले बताउनुभयो ।

अस्थायी रुपमा नभई अधिकार सम्पन्न विपत व्यवस्थापन सम्बन्धी प्राधिकरण गठन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्यमन्त्री राउतले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत बाढीमा मृत्यु भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ समेत हस्तारन्तरण गर्नुभएको छ ।

प्रदेश सरकारले मृतकका परिवारलाई तीन लाख राहत दिने घोषणा यसअघि नै गरेको थियो । बाढी प्रभावित जिल्लामा प्रदेश सरकारले तत्कालका लागि १० लाख रुपैयाँका दरले राहत रकम पठाएको जनाएको छ ।

राहत वितरण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा लगायतकाहरुको उपस्थिति रहेको थियो ।

शुक्रबार लाल बकैया र बाग्मती नदीमा आएको बाढी बस्तीमा पस्द रौतहटमा १० जनाको मृत्यु भएको छ भने सयौं परिवार विस्तापित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com