अजाक्सका कप्तान डी लिग्ट युभेन्टसमा अनुबन्धित



प्रकाशित मिति : Jul 18, 2019

एजेन्सी । नेदरल्याण्ड्सको क्लब अजाक्सका कप्तान म्याथिज डी लिग्ट इटालियन क्लब युभेन्टसमा अनुबन्धित भएका छन्। नेदरल्याण्ड्सका स्टार डी लिग्ट ६७ मिलियन पाउण्डको किर्तिमानी रकममा युभेन्टसमा आबद्ध भएका हुन्।

सिरी ‘ए’ क्लब युभेन्टसमा अनुबन्धित डी लिग्ट पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोपछिका महंगा खेलाडी बनेका छन्। आयाक्सलाई युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेलेका डी लिग्टले नेदरल्याण्ड्सबाट नेशन्स लिगको फाइनल पनि खेलेका छन्।

१९ वर्षीय डच स्टारलाई अनुबन्धन गर्न इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले समेत चासो देखाएका थिए। तर, उनी पोर्चुगिज स्टार खेलाडी रोनाल्डोको आग्रहमा युभेन्टसमा आबद्ध भएका हुन्।

युभेन्टसमा डी लिग्टलाई ४ नम्बरको जर्सी दिइने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। डी लिग्टले ६३ मिलियन पाउण्ड पाउने भए तापनि त्यसमा थप १० मिलियन पाउण्ड बोनस रकम पनि थपिने डेली मेलले लेखेको छ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com