खबरदारीका लागि कांग्रेस-राजपा कार्यगत एकता, विपक्षी दलहरुलाई पेल्ने नीति लिएको आरोप



प्रकाशित मिति : Jul 17, 2019

काठमाडौं । प्रतिपक्षी दलहरु कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले मोर्चाबन्दी गर्ने भएका छन् । रुष्ट बनेका यी दुई दलले सरकारका पाँच वटा कामलाई गलत मानेका छन् । उनीहरुले संसदीय व्यवस्था विपरित सरकारले विपक्षी दलहरुलाई पेल्ने नीति लिएको उनीहरुको आरोप छ ।

संविधानको भावना विपरित हिडेको, संघीयतामा उदासिन, राष्ट्रियता कमजोर पारेको जस्ता आरोप उनीहरुको छ । सरकार र प्रतिपक्षी दलहरुको दूरी बढ्दै गएको छ । संसदीय अभ्यासमा सत्ता पक्ष र प्रतिपक्षको भूमिका आ–आफ्नै हुनुपर्छ । तर, सरकार विपक्षीलाई पेल्ने नीतिमा पुगेको निष्कर्ष निकालेका कांग्रेस र राजपा कार्यगत एकतामा अग्रसर बनेका छन् । उनीहरुले सरकार विरुद्ध मूलतः पाँच वटा आरोप लगाएका छन् ।

  • –सरकारले काम गर्ने शैली संवैधानिक मर्म विपरीत
  • –अधिनायकवादी बाटोमा अग्रसर
  • –संघीय व्यवस्थाप्रति उदासिन
  • –राष्ट्रियतामा कमजोर प्रस्तुती
  • –संविधान विपरित विधेयक ल्याएको

कांग्रेस–राजपाले मानव अधिकार विधेयक, मिडिया काउन्सिल विधेयक, सूचनाको हक सम्बन्धी विधेयकमा विरोध जनाउँदै आएका छन् । योसँगै नियमित संसदीय प्रक्रियामा पनि छलफल नगर्ने गरेको उनीहरुको आक्रोश छ । हालै प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गर्नुलाई दुई दलले राजनीतिक मुद्दा बनाएका छन् ।

बाढी÷पहिरोको विपत्तिमा संसदको छलफल अनिवार्य हुनुपर्ने बताएका उनीहरु संसद स्थगित हुँदा आक्रोशित बने । राजनीतिक संस्कारका लागि दबाब दिन कार्यगत एकता आवश्यक भएको उनीहरुको तर्क छ ।

जानकारहरुले पनि दुई दलको कार्यगत एकतालाई स्वभाविक मानेका छन् । दुईतिहाइको सरकारको गलत काममा प्रतिवाद गर्न विपक्षीहरु एक ठाउँमा उभिनुपर्ने राजनीतिक विष्लेषकहरुको तर्क छ । तर, यो रचनात्मक हुनुपर्ने उनीहरुको सुझाव छ ।

यस अघि कांग्रेससँग अन्य साना दलले पनि कार्यगत एकताको प्रयास गरेका थिए । सरकारमै रहेको समाजवादी पार्टीलाई समेत सरकार छाडेर आउन राजपाले आग्रह गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com