आर्थिक वर्ष २०७६/७७ को बजेट लागू, मूल्यबृद्धिको चिन्ता



प्रकाशित मिति : Jul 17, 2019

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ आजबाट सुरु भएको छ । साउन एक गते नयाँ आर्थिक वर्ष सुरु हुने गर्दछ । ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य सहित आएको बजेट कार्यान्वयनका चुनौती पनि उस्तै छ । यस वर्षको बजेटले विभिन्न वस्तुको आयातमा राजश्व बढाएको छ । त्यस्तै कर्मचारीको तलब समेत बढाएको छ । यसबाट बजारमा मूल्यवृद्धि हुने कतिपयको ठम्याई छ ।

१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट बुधबारबाट कार्यान्वयनमा आएको छ । यो वर्षको बजेटले आयात हुने बस्तुको भन्सार दर बढाएको छ । त्यस्तै, आयकर ऐन, २०७६ पनि साउन १ गते देखि लागु भएको छ । ऐन मार्फत कृषि उपज आयातमा अग्रिम आयकरको दायरालाई फराकिलो पारिएको छ ।

आयकर ऐनको व्यवस्थाः

  • – पिठो, आलु, प्याज, तरकारी, चामल, कनिका, फापर, दूध, उखु, अण्डालगायत वस्तु आयातमा भन्सार विन्दुबाटै ५ प्रतिशत अग्रिम कर ।
  • –कवाडी तथा पत्रुको व्यवसाय भ्याटमा दर्ता हुनु पर्नेछ ।
  • –दश लाखभन्दा बढीको कर चेक, ड्राफ्ट वा विद्युतीय माध्यमद्वारा भुक्तानी गर्नुपर्ने ।
  • –मदिरा, वाइन, हेल्थ क्लब, डिस्को थेक, मसाज थेरापी, मोटर पार्टस, विद्युतीय सफ्टवेयर, भन्सार एजेन्ट, खेलौना व्यवसायमा ५ प्रतिशत अग्रिम कर लाग्ने ।
  • –शैक्षिक तथा कानूनी परामर्श, लेखा तथा लेखापरीक्षण सेवा भ्याटमा आउनुपर्ने ।

आयकर छुटको सिमा बढाएको छ । व्यक्तिगत ४ लाख रुपैयाँ र विवाहितको हकमा ५० हजार रुपैयाँ बढी सम्मको आम्दानीमा १ प्रतिशत आयकर लाग्ने व्यवस्था गरेको छ ।

कति कमाउनेले कति कर तिर्नुपर्छ ?

कम्पनीले खरिद गर्ने शेयरको कर ७ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको छ । त्यस्तै तलबका लागि प्यान नम्बर अनिवार्य गरेको छ । सामाजिक सुरक्षातर्फ वृद्धभत्ता र अशक्त, अपांगता भएका, एकल महिला, लोपोन्मुख, आदिवासी र जनजाति समेतले पाउने भत्तासमेत १ हजार रुपैयाँले वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com