बागलुङमा एक अर्व २२ करोड भन्दा बढी रकम फ्रिज



प्रकाशित मिति : Jul 17, 2019
  • रबिना बोहरा

बागलुङ, १ साउन । बागलुङमा आर्थिक बर्ष ०७५÷७६ मा एक अर्व २२ करोड भन्दा बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका अनुसार जिल्लामा रहेका झण्डै ५० वटा सरकारी कार्यालयबाट विकास तथा चालु खर्चको कुल एक अर्व २२ करोड १५ लाख २८ हजार एक सय ८६ रुपैँया फ्रिज भएको हो । गत आ.व ०७४/७५ मा पुँजीगत बजेटको ११ प्रतिशत र चालुखर्चको ८ प्रतिशत गरी ७२ करोड बढी रकम फिर्ता गएको थियो ।

आ.व ०७५/७६ मा प्रदेश योजनामा पुँजीगत तर्फ ३५ प्रतिशत, चालुखर्चको २० प्रतिशत रकम र केन्द्रिय योजनामा पुँजीगत तर्फको ३४ प्रतिशत, चालुखर्चको ६ प्रतिशत रकम खर्च हुन सकेन । जसमा केन्द्रिय योजनाको ७६ करोड ८० लाख ८० हजार ८ सय ९२ रुपैँया र प्रदेश सरकारबाट आएको ४५ करोड ३४ लाख ४७ हजार २ सय ९३ रुपैँया फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । संघिय संरचनापछिको अन्यौलता, अख्तियारी ढिलो प्राप्त हुनु, स्थानीय तहमा काम गर्ने कर्मचारीको अभावले गर्दा यस पटक बजेट कम खर्च भएको देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख केशवराज ढकालले बताउनुभयो ।

केन्द्रिय सरकारबाट बागलुङको विकासका लागि प्राप्त भएको एक अर्व ३० करोड ५१ लाख ६६ हजार रुपैँयामा जम्मा ८४ करोड ८० लाख ६१ हजार ७ सय ६२ रुपैँया खर्च भएको छ भने चालुखर्च तर्फ आएको ५ अर्व ३ करोड ३३ लाख ७९ हजार रुपैँयामा ४ अर्व ७२ करोड २४ लाख २ हजार भन्दा बढी खर्च भएको हो । केन्द्रिय योजनामा सबैभन्दा कम नयाँ शहर आयोजना बुर्तिबाङको बजेट खर्च भएको छ । यसमा पुँजीगत खर्चका लागि आएको १० करोड ११ लाख रुपैँयामा जम्मा २४ लाख ४२ हजार ७ सय रुपैँया गर्दा २.४१ प्रतिशत मात्रै काम भएको देखिएको छ । सबैभन्दा बढी बजेट भने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईले ९६ प्रतिशत खर्च गरेको छ ।

यसमा पुँजीगततर्फ ३१ करोड ८२ लाख २९ हजार रुपैँयामा ३० करोड ६३ लाख ९३ हजार रुपैँया र चालुखर्चको २५ करोड ९३ लाख ३७ हजारमा २० करोड ४८ लाख ७३ हजार खर्च भएको हो । योजनाको सम्झौता ढिलो हुनु र सम्झौता अनुसार समयमै काम गर्न नसक्दा पनि वर्षेनी जिल्लाको बजेट फ्रिज हुने गरेको देखिएको छ । यस्तैगरी प्रदेश सरकारबाट विकास खर्चका लागि प्राप्त भएको कुल १ अर्व १५ करोड ७३ लाख ८३ हजार ९ सय ८५ रुपैँयामा जम्मा ७५ करोड २१ लाख ९ हजार ४ सय ३७ रुपैँया खर्च भएको भएको छ । यसको चालुखर्चका लागि आएको ४४ करोड २५ लाख २१ हजार १ सय ६८ रुपैँया मध्य ३९ करोड ४३ लाख ४८ हजार ४ सय २२ रुपैँया खर्च भएको छ ।

प्रदेश योजनामा पुँजीगत तर्फ सबैभन्दा बढी भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ९५ प्रतिशत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले ८० प्रतिशत खर्च गरेका छन् भने सबैभन्दा कम सडक डिभिजन कार्यालयले ४ प्रतिशत, घरेलु तथा साना उद्योग विकास समितिले ७ प्रतिशत मात्रै खर्च गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर थप बजेट निकासा भएर आउँदा प्रभावकारी रुपमा विकास निर्माणका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com