पत्रकारलाई धम्की दिने घिमिरे हिरासतमा



प्रकाशित मिति : Jul 17, 2019
  • देवराज पन्त,

हेटौंडा । हेटौंडाका पत्रकार बलराम पुडासैनीलाई आफ्नो विरुद्ध समाचार लेखेकै भन्दै धम्की दिने मकवानपुरगढी वडा नम्बर ३ का रामप्रसाद घिमिरेलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा एक महिना अघि निर्माण सम्पन्न गरिएको स्ल्याब ढलान काम नलाग्ने गरी भत्किएको थियो ।

सोही विषयमा समाचार प्रकाशन गरेको भन्दै निर्माण उपभोक्ता समितिका अध्यक्ष घिमिरेले मकवानपुरबाट प्रकाशित हुने ‘तु खबर डट कम’का समाचार प्रमुख बलराम पुडासैनीलाई फोनमार्फत अश्लिल शब्दको प्रयोग गर्दै धम्की दिएका थिए ।

यसरी धम्की दिएपछि पुडासैनीले स–प्रमाण जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज (बुधबार)जाहेरी दिएका छन् । जाहेरीको आधारमा घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिई कानूनी कार्वाहीका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

३ नम्बर प्रदेश सरकारको अनुदान सहयोगमा गढी गाउँपालिका वडा नम्बर ३ मा ५० लाखको लागतमा केही समयअघि निर्माण भएको स्ल्याब ढलान निर्माणमा लापरवाही गरेको, कमसल सामग्री प्रयोग गरिएकाले विभिन्न स्थानमा भाँसिएर सवारी साधनसमेत चल्न नसक्ने अवस्थामा छ । यस विषयमा ‘तु खबर डट कम’ले हिजो समाचार प्रकाशन गरेको थियो ।

सञ्चार गृहले सम्बन्धित उपभोक्ता समितिका अध्यक्ष घिमिरे र सो गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईसँग सो निर्माणका विषयमा प्रतिक्रिया उल्लेख गर्दै सन्तुलन कायम गरेता पनि सञ्चारकर्मी पुडासैनीलाई धम्की दिएका थिए ।

यस विषयमा पत्रकार महासंघ मकवानपुरले सञ्चाकर्मीलाई धम्की दिनु निन्दनीय भएको र दोषी उपर कानूनी कार्वाहीको माग गर्दै विज्ञप्ति समेत प्रकाशन गरेको छ ।

पछिल्लो समय नेपालमा समाचार प्रकाशन, प्रसारण गरेकै आधारमा सञ्चाकर्मीहरु माथि विभिन्न आक्रमण तथा धम्की दिने क्रम बढिरहेको छ । भर्खरै जिल्ला प्रशासनले १० दिनको म्याद थप गरेर थुनामा राख्न प्रहरीलाई आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com