उद्योगी व्यवसायीको गुनासो–‘भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम व्यवहारिक भएन’



प्रकाशित मिति : Jul 17, 2019
  • तारा आचार्य,

विराटनगर, १ साउन । सरकारले सुुरु गरेको भिसिटिएस अर्थात भेहिकल एण्ड कन्साइन्मेण्ट ट्र्याकिङ सिस्टम व्यवहारिक नबनेको भन्दै उद्योगी व्यवसायीहरुले विरोध गरेका छन् ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको व्यापारीहरुको बृहत भेलामा भिसिटिएस प्रणाली राम्रो भएपनि इन्टरनेटको पहुँच र विभागको सर्भर डाउन रहने गरेकाले व्यवहारिक नभएकाले केही महिनाका लागि कारवाहीको दायरा हटाउन माग गरेका छन् ।

सो प्रणालीमा इन्ट्री नगरी सामान ओसार–पसार गरे एक लाख रुपैयासम्म जरिवाना हुने प्रावधान छ । अनलाइन प्रणालीबाट निगरानी गर्न सकिने सो सिस्टम देश भित्रिएको सामानदेखि व्यवसायिक वस्तुको आन्तरिक ओसार–पसारमा समेत साउन १ गते देखि लागू गरिएको हो ।

अनलाइनबाट इन्ट्री गर्नुपर्ने अवस्थामा इन्टरनेटको सुविधा नभएको ठाँउमा इन्ट्री नगर्दा कारवाही गर्न नहुने मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्धडाले बताए । एउटै विल देखाएर पटक–पटक सामान ओसार–पसार गर्ने, कर चोरी गर्ने जस्ता कार्य गर्ने व्यापारीहरु सरकारले ल्याएको प्रणालीबाट त्रसित भएको केही व्यापारीहरुले बताएका छन् ।

उनीहरुले सरकारले ल्याएको वित्तिय अनुशासन गर्ने कानूनहरु राम्रो भएको बताउदै केही कठिनाई रहेकाले यसलाई व्यवहारिक बनाउदै लैजानुपर्ने सुझाव दिएका थिए । सो कार्यक्रममा तलब खर्च देखाउन अनिवार्य गरिएको प्यान नम्बर हटाउनुपर्ने, ढुवानीमा लगाइएको भ्याट उपयुक्त नभएको उद्योगी व्यापारीहरुले बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com