गुरु पूर्णीमा विशेष: कुटेर विद्यार्थीको ज्यान लिने शिक्षकलाई कसरी गुरु मान्ने ?



प्रकाशित मिति : Jul 16, 2019

आज गुरु पूर्णीमा ! सबैले आ–आफ्ना गुरुलाई सम्झिएका छन्, धन्यवाद दिएका छन् । गुरु शब्द आँफैमा अत्यन्त पवित्र छ । यसको अथाह महिमा वर्णन गरेरै सकिन्न । बाल्यकालमा शिक्षा दिने गुरुहरुको सम्झना गर्दा आज यो मुलुकका ती शिष्यहरुका बारेमा कुरा गरौँ जसले बर्षौसम्म यो मुलुकको बागडोर सम्हालेका छन् ।

बर्षौदेखि केन्द्रीय राजनीतिमा रहेका शिर्ष नेतागणका गुरुहरु, शिक्षकहरुलाई आज सम्झन चाहन्छु । हे गुरुदेवहरु हो, यति धेरै स्रोत साधन भएको देशलाई पनि यस्तो तन्नम बनाउने कस्ता शिष्यहरु तयार पार्नु भो तपाईहरुले ?

गुरु पुर्णीमामा प्राय गुरुहरु या शिक्षकहरु भनौं, ज्यादै खुसी देखिनुहुन्छ । हाम्रा शिर्ष नेताका गुरुहरुलाई के आज गर्वको महशुस भएको छ होला त ? मैले फलानो नेतालाई पढाएको हुँ, मैले पढाएको मेरो विद्यार्थी आज यस्तो भयो, उस्तो भयो भनेर गर्व गर्न सक्ने गुरुहरु भैदिए देश कस्तो हुन्थ्यो होला ? खैर यो वितेको कुरा हो । हाम्रा नेताहरुलाई फेरि स्कुल पठाउन सकिदैन तर अबका दिनमा पठाइरहेका शिक्षकहरुको हातमा यो देशको भविष्य छ ।

एउटा जेनेरेशन शिक्षकको डर, हप्काई, पिटाई खाँदै हुर्कियो । कुनै जमानामा शिक्षकले तानेका कन्सिरीका रौं सम्झिदा अझै दुख्छ । दुई औंलाको विचमा शिसाकलम राखेर आँशु नचुइएसम्म न्वारन देखिको बल लगाएर थिच्ने टिचर पनि धेरैले भोग्यौ ।

लठ्ठी, रुलरले हत्केलामा, हातको पछाडि पट्टी र जिउकै पछाडिपट्टी हिर्काएर बस्नै नसकिने बनाइदिने गुरुहरु पनि देखियो । कान समातेर उठबस गर्न त खासै गाह्रो थिएन । टाङमुनीबाट हात छिराएर कान समातेर घण्टौंसम्म बस्ने, मुर्गा बन्ने आइडिया सोच्ने पहिलो शिक्षक को होलान ?

शिक्षकबाट पाएका सजायका कहाली लाउँदा अनुभव हामी सबैका छन् । तिनै सजायको डरले राम्रो पढाई गरेर जीवन सफल बनाउनेहरु पनि छन् । इतिहासलाई आजको सुविधा लिएर मूल्याङकन गर्न त मिल्दैन तर राम्ररी बुझाउन, सिकाउन नसकेर मरणासन्न हुनेगरी कुट्ने शिक्षकहरु हिजो पनि गलत थिए । आजपनि गलत नै हुन् ।

शिक्षकको कुटाइकै कारण स्कुल जान छाडेकाहरु धेरैको भविष्य विग्रिएको समेत प्रसस्त उदाहरणीय छन् । कानै चुडिएला जसरी निमोठ्ने र टाउको जत्रै टुटुल्को उठ्ने गरी डस्टरले वा हातैले घोट्टा हान्न छोट्टा शिक्षकहरुले आफ्नो कमजोरीलाई डरसँग लगेर जोडिदिए । कतिपय मानिसहरु ती दिन सम्झिदा एकदम भावुक भए जस्तो गरेर वा क्या दिन थिए ती पनि भन्न भ्याउँछन् ।

त्यस्तो रमाइलो लागेको भए आजपनि त्यसैगरी कसैलाई कन्सिरीका रौं तान्न लगाई हेरे भै हाल्यो नि ! कुटेर तह लगाउने ती दिनहरुलाई सही मात्र कदापी सकिदैन । शहर बजार तिर बाल अधिकारको नारा गुन्जिएपनि गाँउघर तिर अझै बिद्यार्थी कुटिन्छन् । गत हप्ता मात्र कञ्चनपुरको भिमदत्त नगरपालिका १७ स्थित महाकाली बाल बिद्यालयमा कक्षा ९ मा अध्ययनरत माधव कलौनीको शिक्षकको कुटाइबाटै ज्यान गयो ।

त्यस्तै वीरगञ्ज महानगरपालिकामा रहेको जिएचपी सेकेण्डरी स्कुलका शिक्षकको कुटाइबाट शुसान्त खनालको हात भाँचियो । गुरु पूर्णीमाको यो दिनमा कुटेर विद्यार्थी मार्ने ज्यानमारालाई कसरी गुरु मान्ने ? हात भाँचिदिने सुकुल गुण्डालाई कसरी गुरु मान्ने ?

विद्यार्थीलाई मानसिक, शारीरिक यातना दिनेहरु गुरु हुन सक्दैन । कलिला बालबालिकाहरु माथि यौन हिंसा समेत भैरहेका छन् । शिक्षक र विद्यार्थीको पवित्र नातामा शंकाको सानो टुक्रो बादल पनि नछाओस् तर, सिकाउने निहुँमा हिसाब यस्तो हो नानी, स्पेलिङ मिलेन त केटी भन्दै ढाड छाम्ने शिक्षकहरुको चाँही ढाडै भाँच्नै पर्छ ।

गुरुको भेषमा स–साना केटाकेटी माथि यौन हिंसा गर्नेहरुलाई चिन्न यो गुरु पूर्णीमा मद्धत गरोस् । समाजको डरले स्वयंम आमा बाबुले नै के भन्लान भन्ने डरले यो देशका धेरै विद्यार्थी बहिनी÷छोरीहरु चुपचाप छन् । यस्तो समाज बनाएका छौं, हामीले की यहाँ हिंसामा परेकी छोरीले आवाज उठाइन भने उनको परिवारको इज्जत जान्छ रे !

आज गुरु पुर्णीमाको दिन तमाम अभिवावक तथा विद्यार्थी भाइबहिनीहरुलाई यहाबाट एउटा म्यासेज दिन चाहन्छु । तपाईको शरीरको गोप्य अंगहरुमा कसैले पनि छुन पाउँदैन । स–साना बालबालिकाका हकमा नुहाउँदा अभिवाकले र विरामी पर्दा बाबु आमाको उपस्थितिमा डाक्टरहरुले मात्र यी अंगहरुमा छुन पाउँछन् ।

असहज हुनेगरी कसैले धाप मारेमा, अंगालो हालेमा नजानिदोँ तारिकाले छुने प्रयास गरेमा आफ्ना अभिभावकहरुलाई सबै कुरा भन्नु होला । समाजको डर इज्जतको डर भनिरहँनु भयो भने यस्ता यौन पिपासुहरुको मनोबल झन् बढ्छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com