माइक्रोवेभ एब्लेशनबाट नेपालमै पहिलो पटक मृगौलाको ट्युमरको सफल उपचार



प्रकाशित मिति : Jul 14, 2019

काठमाडौं । नेपालमै पहिलोपटक मृगौलाको ट्युमरको उपचार गर्न माइक्रोवेभ एब्लेशन प्रोसिडियोर गरिएको छ । ॐ अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. अजित थापाले आइसियु तथा एनेस्थेसिया विभागका डाक्टरहरुसँगको सहकार्यमा दशरथ बरालको उपचारमा माइक्रोवेभ एब्लेशन गरेका हुन् । दशरथ बराल पोखराको लेखनाथ नगरपालिकाका स्थानीय हुन् ।

ॐ अस्पतालका युरोलोजी विभागका प्रमुख प्रा.डा.भोलाराज जोशीको टिम बरालको दाहिने मृगौलाको तल्लो भागमा रहेको ३ सेन्टिमिटर भन्दा लामो रेनल सेल कार्सिनोमा ट्युमरको उपचारमा संलग्न रहेको थियो । प्रा.डा. जोशीले यस किसिमको प्रोसिडियोर स्लो ग्रोइङ ट्युमरहरुका लागि र निकै साना साइजका ट्युमरहरुको उपचारका लागि प्रभावकारी रहेको बताए । साथै यस किसिमका समस्याको निदान र उपचारका लागि ॐ अस्पतालमा आउन आग्रह समेत गरेका छन् ।

शरीरको भित्रि अङ्गहरुको ट्युमरका तन्तुहरुलाई तातोले डामेर वा चिस्याएर मार्ने प्रक्रियालाई एब्लेशन प्रोसिडियोर भनिन्छ । उमेर, मुटुको समस्या लगायतका विविध कारणले अप्रेशन गर्न नमिल्ने अवस्थाका विरामीहरुको उपचारको विकल्पको रुपमा प्रोसिडियोर गरिन्छ ।

विविध कारण सर्जरी गर्न नमिल्ने अवस्थाका बिरामीहरुको उपचारका लागि विकल्पका रुपमा प्रयोग गरिने यस प्रोसिडियोरमा अल्ट्रासाउण्ड र सीटी स्क्यानका लाइभ तस्वीरहरु हेर्दै, प्रोबको माध्यमबाट एब्लेशन मेसिनको बिशेष यन्त्रलाई ट्युमरसम्म पु¥याएर ट्युमरका तन्तुहरुलाई डामेर वा चिस्याएर मार्ने गर्ने गरिन्छ ।

पछिल्लो समयमा मृगौला, फोक्सो, स्तन, पाठेघरका ट्युमरको उपचारका लागि समेत प्रोसिडियोर प्रयोग गर्न सुरु गर्न थालिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com