‘भारतीले नेपालको सीमा नजिक बनाएको घातक संरचनाका कारण देश चुर्लुम्म डुब्यो’



प्रकाशित मिति : Jul 13, 2019

कुरा २०७३ साल साउन १४ गतेको हो, सप्तरीको तिलाठी स्थित खाँडो नदीमा भारतीय पक्षले जबरजस्ती बाँध बाध्न खोज्दा तिलाठीवासी प्रतिकारमा उत्रिएका थिए । दुबै पक्षबीच डरलाग्दो झडप भयो ।

दुबै पक्षका १२ जना गम्भीर घाइते भए । सप्तरीको तिलाठी निवासी देवनारायण यादव जो त्यसबखत ५६ बर्षका थिए । तिनै देवनारायणसहित अन्य घाइतेलाई देवत्वकरण गरेर एउटा दलले काठमाडौंको बल्खुमा ल्याएर सम्मान ग¥यो । त्यही दल अहिले फरक नाम अर्थात नेकपाकोरुपमा सत्ताको नेतृत्व गरिरहेको छ ।

तर, बिडम्बना अहिले देश फेरि एकपटक चुलुम्म डुबेको छ, भारतीय पक्षले नेपालको सीमा नजिक बनाएको घातक संरचनाहरुका कारण । रौतहटको गौर लगायत धेरै भू–भाग जलमग्न बन्दा खाँडोको कथा त दोहोरिएन तर, अहिले चलेको सामाजिक सञ्जालका भित्ताहरुमा दर्दहरु पोखिए ‘गो ब्याक इण्डिया’ । रौतहटवासीको वेदनाको यो शैली नौलो भए पनि पीडा भने पूरानै हो ।

भारतले रौतहट भएर बग्ने बागमती र बकैया नदीमा बाँध बाँधेको छ । त्यो पनि अन्तर्राष्ट्रिय प्रावधान विपरित दशगजा क्षेत्रमा । ‘नो म्यान्स ल्याण्डस्’ भनिने दशगजामा बाँध बाध्न भारतले नेपालको अनुमति लिनु पर्दैन र ? यही बाँधले गौर डुबाउन थालेको धेरै बर्ष वितेको छ । तर, बारम्बार दोहोरिने यो समस्याका लागि सुनुवाई कहिंकतैबाट भएको छैन । के यो राजनीतिक अकर्मण्यता होइन भनेर सोध्न मिल्छ सत्तामा बस्नु भएका, विपक्षमा रहनु भएका र बिभिन्न राजनीतिक दलका नेताहरुलाई ?

बागमती र बकैयामा बाँधेको बाँधबाट थुनिएको पानीले आफै विद्रोह गरेर दक्षिणतर्फ बग्दा रौतहटवासी धेरैले राहत पाए, नभए हामी निरिह चु–चु भनेर चुकचुकाउनु भन्दा बढी के गर्न सक्थ्यौं र ?

यो कथा यहाँमात्र सीमित छैन, सप्तरीको तिलाठी कोइलाडी, सखुवा र हनुमाननगर हुँदै बाँकेको सीमामा भारतले निर्माण गरेका लक्ष्मणपुर बाँध, कलकलवा मार्जिनल तटबन्ध, नवलपरासीको सुस्ता क्षेत्रमा बाँधिएको बाँध, कपिलवस्तुको सीमामा भारतले बनाएको बजाहा, महलीसागर र मर्थी मझौली बाँधले नेपालतर्फको हजारौ हेक्टर खेतियोग्य जमीनलाई हरेक बर्ष वगरमा परिणत गर्नेक्रम जारी छ ।

त्यस्तै कैलाली भएर बग्ने कर्णाली नदीमा भारतले बनाएको कैलाशपुरी बाँधको कारण टिकापुरवासी डुबानको चपेटामा निरन्तर पर्दै आएका छन् । यता नवलपरासीको धेरै बासिन्दालाई बर्खा लाग्यो कि रातभर जागो रहनु पर्ने अवस्था छ । कारण हो नारायणी नदीमा भारतले बनाएको एकतर्फी बाँध ।

कुरा बाँधको मात्र नभई बाँधको नै भूमिका खेल्न सक्ने गरी भारतले नेपालको पूर्वी भेगदेखि पश्चिमसम्म बनाएको ५ मिटर अग्लो र ३० मिटर चौडाको सडकले नेपालतिर विनाशका अन्य ताण्डवहरु मच्चाउँदै आएको छ । नेपाल–भारतको सीमास्तम्भदेखि मुश्किलले १० मिटरको दुरीमा निर्मित यो सडक नेपाल डुबाउनका लागि नै हो भनेर धेरै पटक नागरिक स्तरबाट आवाज उठिसकेको छ ।

तर, सडकको बारेमा नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाउनु देश र आफ्नो जनताप्रतिको गद्दारी हो कि होइन ? यो प्रश्न निरन्तर उठिरहेका छन् र उठिरहनेछन् जबसम्म नेपाल डुबाउन छोड्दैन । कुरा यतिमा मात्र सीमित हुँदै सप्तकोशी नदीको तालाचाबी कोसँग छ ? हरेक पुस्ताका नेपाली जानकार छन्, कोशीको वहावले खतराको विन्दू नाध्न थालेपछि ४० ढोका खोलिए आज । तर अब विहारमा विनाशको घण्टी बज्ने संकेत देखिए कोशीको ढोका बढ्ने नभई घट्ने निश्चित छ ।

आम सीमावासी नेपाली ढुक्कले भन्दै आएका छन् बाढीले त्यति ठूलो विनाश गर्दै आएको छैन जति सीमा क्षेत्रमा बाँधेको बाँधले गर्दै आएको छ । र, सीमा क्षेत्रमा बनाइएका लामो र अग्लो सडकले गर्दै आएको छ ।
आखिर कहिलेसम्म यसरी सबै सहेर बस्ने त ? डुवान पनि सहनु पर्ने ? पठाको विषादी पनि पिउदिनै पर्ने ? जे भन्छन् हस भन्नै पर्ने ? नाकाबन्दी जस्तो कठोर पीडामा त देश र नेताको कदमलाई साथ दिएर भोक प्यास पचाउने नेपाली नागरिक तिर हेरेर यो निरिहता त्याग्ने आँट गर्न नसकिएला र ?

अब निर्णय लिनुपर्छ राज्यले ढिला गरिनु हुन्न ? बाँध त नेपालबाट बगेको पानीले भत्काइहाल्छ नि भनेर काठमाडौंमा कोही पनि ढुक्कले निदाउन पाउनेवाला छैन । तराईको उर्वर भूमि नेपालका लागि अन्नको भण्डार हो । सुन झै लहलह झुल्ने धानको बाला नेपालको आत्मनिर्भरतातर्फको यात्राको सुनौलो संकेत हो ।

तर, डुवानले दिन दिनै बगर बन्दै गर्दा यो हाम्रो पुस्ताले पछिल्लो पुस्तालाई बगर छोडेर जाने कि उर्बर भूमि यो गम्भीर प्रश्नमा अब सबै गम्भीर बन्न जरुरी भइसकेको छ । पछिल्लो पुस्ताले इतिहासका पाना पल्टाउँदा वर्तमान अर्थात् यो पुस्ताको हरफहरु पल्टाउन नचाहने अवस्था नलेखियोस ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com