पारदर्शी बन्नु र सुशासन कायम राख्न सक्नु नै स्थानीय तहको ठूलो इमान्दारी बन्ने (भिडियो)



प्रकाशित मिति : Jul 13, 2019

१. पारदर्शी बन्नु र सुशासन कायम राख्न सक्नु नै स्थानीय तहको ठूलो इमान्दारी बन्ने
स्थानीय तहहरुले अब जनताको मन जित्न गर्नु पर्ने मुख्य कार्य भनेकै पारदर्शी बन्नु र सुशासन कायम राख्नु हो । धेरै आशा र भरोसा बोकेका छन् जनताले २ दशक पछि पुनःस्थापना भएका स्थानीय तहहरुसंग । विकास र समृद्धिका मार्ग प्रशस्त गर्नु प्रमुख दायित्व बनेको स्थानीय तहहरुसंग अवसरसहित चुनौती पनि धेरै छन् ।

धेरै स्थानीय तहहरु विकासको होडबाजीमा लाग्दै गर्दा स्मार्ट बन्ने रहर गरिरहेको पोखरा महानगरपालिकाका वडाहरु पनि अहिले विकासको मार्गमा लम्किएका छन् । वडाको हरेका सडक चिल्लो बनाउने, वडालाई उपभोक्ता र वडावासी मैत्री बनाउने, पिउने पानी, स्वास्थ्य र शिक्षा लगायत आधारभूत पक्षमा ध्यान दिने कार्यमा पोखरा नगरपालिकाका वडाहरु कस्सिएको देख्न पाइन्छ । यही मेसोमा पोखरा महानगरपालिकाको वडा नम्बर ६ पनि को भन्दा को कम शैलीमा अघि बढेको छ ।

२.सम्बृद्ध पोखराको आधार, घरघरमा बालमैत्री व्यवहार भन्ने नाराले पोखरामा सार्थकता खोज्दै

बालबालिका भोलिका कर्णधार हुन् । यो नेतादेखि कार्यकर्तासम्म र शिक्षकदेखि समाजसेवी सम्मले भट्याउने शब्द हो । तर चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा देशभरबाट १८ बर्ष मुनिका १८ सय भन्दा बढी बालबालिका हराएका छन् । भोलिका कर्णधार हुन भन्दै भट्याइने शब्द र हराउने बालबालिकाको कहालीलाग्दो बढ्दो तथ्यांकले यो देशका बालबालिकाको वास्तविक अवस्था उजागर गरेको छ ।

यसो भन्दैमा अब चुप लागेर भने बस्ने समय होइन यो । त्यही भएर पोखरा महानगरपालिकाले अघि सारेको सम्बृद्ध पोखराको आधार, घरघरमा बालमैत्री व्यवहार भन्ने नारालाई अन्य स्थानीय तहले पनि अनुकरण गर्नु पर्ने अवस्था आएको छ । पोखरा महानगरपालिकाको यही नारालाई मुर्तरुप दिन उस्को वडा नम्बर नौले आफ्नो वडालाई बालमैत्री टोल घोषणा गरेको छ ।

३. खुम्चिदै गएको मनमोहक फेवातालको हराएको र मिचिएको क्षेत्रहरुको खोजी गरिने

सुन्दर पोखराको मनमोहक फेवाताल खुम्चदो छ । एक समय २२ हजार रोपनीको क्षेत्रफलमा लमतन्न परेर बसेको फेवाताल अहिले पुग न पुग ९ हजार रोपनी क्षेत्रफलमा खुम्चिएको छ । यस्को दोष अव्यवस्थित शहरीकरण, फेवातालमाथिको निर्लज्ज अतिक्रमण र फेवाको आकर्षणमाथिको उदासिनता नै हो । तर अब खुम्चिएको फेवातालको क्षेत्रफल बढाउने अभियान थालिएको छ ।

पोखरा महानगरपालिकाको वडा नम्बर १० मा पर्ने फेवातालको संरक्षण, सम्वद्र्धन र सुरक्षामा महानगरपालिकाको वडा नम्बर १० अघि सरेको छ । त्यस्तै १० नम्बर वडाले वडाको समग्र विकासका लागि बिभिन्न दीर्घकालीन योजनाहरु अघि सार्दा वडाको योजनामा वडावासी पनि सहयोगी र सक्रिय देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com